काठमाडौँ: शनिबार काठमाडौंका एटिएम ह्याकिङ गरी पैसा निकालेका चिनियाँको नेपाली रुपैयाँ डलरमा साट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार ह्याकिङ गरेर फरार तीन जना चिनियाँको पैसा साट्नेहरूलाई सोमबार दिउँसो ठमेलबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा डेक्सो मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाललय मनि एक्सेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दुवाडी छन्।
प्रहरीले उनीहरूले चिनियाँबाट लिएको २९ लाख ९९ हजार रुपैयाँमा पनि नियन्त्रणमा लिएको छ। चिनियाँहरूले नेपाली पैसा मनी एक्सचेन्जवालालाई दिएर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएर गएका थिए।
गैरकानुनी रूपमा मुद्रा सटही गरेको अभियोगमा पक्राउ परेकामाथि छानबिन भइरहेको प्रहरीले जनाएको छ।
यसअघि आइतबार राति प्रहरीले ह्याकिङमा संलग्न३६ वर्षीय सु लुसलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
