काठमाडौँ: नेपाल खाद्य संस्थानले दशैंका लागि राजधानीमा तीन हजार खसीबोका र च्याङ्ग्रा विक्री वितरण गर्ने भएको छ ।

संस्थानले एक हजार खसीबोका र दुई हजार च्याङ्ग्रा गरी तीन हजार चौपाया विक्री गर्ने तयारी थालेको संस्थानका विभागीय प्रमुख श्रीमनि राज खनालले पहिलोक्लिकलाई बताए ।

संस्थानले घटस्थापनाको भोलिपल्टदेखि थापाथली कार्यालयबाट खसी बोका र च्याङ्ग्रा विक्री गर्ने तयारी गरेको उनले बताए ।

च्याङ्ग्रा मुस्ताङबाट र खसी बोका दाङ्गको तुलसीपुर र मकवानपुरबाट ल्याइने उनले बताए । गत साल संस्थानले जम्मा ३०७ खसीबोका र ९०० सय च्याङ्ग्रा राजधानीमा विक्री गरेको थियो ।

खसीबोकाको  स्वास्थ्य परिक्षणका कारण भारतबाट खसीबोकाको आयात रोकिएको हुनाले खाद्य संस्थाले यो साल खसीबोका र च्यांग्राको बिक्रि वढाउन लागेको उनको भनाइ छ ।

गत वर्ष योजना अनुसार ल्याउन नसके पनि यो वर्ष तीन हजारको हाराहारीमा खसीबोका र च्याङ्ग्रा बच्ने उनले जानकारी दिए ।

उनले भने, ” स्थानीय स्तरमा खसी बोका खरिदका लागि प्रमुख जिल्ला अधिकारीको समन्वयमा खरिद समिति बनाइने र समितिले निर्धारण गरेको मूल्यमा नै बोका खरिद गरिन्छ। ”

उनका अनुसार गत वर्षको तुलनामा प्रतिकिलो १० रुपैयाँ महँगो हुन्छ यद्यपी संस्थानले खरिद मूल्य र ढुवानी खर्चका आधारमा विक्री मूल्य तोकिनेछ। संस्थानले नाफाका लागि नभई राजधानीमा निजी क्षेत्रबाट अस्वभाविक वृद्धि हुने मूल्य नियन्त्रणका लागि विगतका वर्ष झैं यो वर्ष पनि कार्यक्रम राखिएको उनले बताए ।

संस्थानले बेच्ने ३००० खसीबोका धेरै कम हो तर यस प्रयासले बजारलाई नियन्त्रण गर्न र उपभोक्तालाई सुपथ मूल्यमा खरिद गर्ने वातारण सिर्जना गर्छ।

उनले भने, “संस्थानले बेच्ने खसी बोका स्वास्थ्य परीक्षण गरेर मात्रै विक्री वितरण हुने हुँदा उपभोक्ताले स्वस्थ्यकर मासु उपभोग गर्न पाउँछन्। ”

दशैंको समयमा काठमाडौँमा मात्रै ५० हजारको हाराहारीमा खसीबोकाको माग हुनेगर्दछ ।

बजारमा व्यापारीले खसीको मासु प्रतिकिलो २००० रुपैया सम्म बढ्ने बताएपनि त्यस्तो मूल्य नबढ्ने उनको भनाइ छ । उनले भने “स्थानीय बजारमा मूल्य सामान्य रुपमा बढे पनि व्यापारीले आफ्नो मनलाग्दी रुपमा मूल्य बढाएका छन्” ।

गत वर्ष संस्थानले जिउदो खसीबोका प्रतिकिलो ५१० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ७१० रुपैयाँमा तोकेपनि उपभोक्तालाई प्रतिकिलो १० रुपैयाँ १० रुपैयाँ छुटमा बिचेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version