काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका प्रमुख निर्देशक कुलमान घिसिङले घरबेटीले कोठा भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिए कारबाही हुने बताएका छन्।
आइतबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताएका हुन्। प्राधिकरणले तोकेको अधिकतम रकमभन्दा बढी लिएको उजुरी आए कारबाही हुने उनको भनाइ छ।
‘अहिलेको कानुन अनुसार नेपाल विद्युत प्राधिकरणले बिक्री गरेको बिजुली अरु कसैले पनि पुनः बिक्री वा व्यापार गर्न पाइदैन’, पत्रकारले सोधेको प्रश्नको जवाफमा घिसिङले भने, ‘घरबेटीले बढी महसुल लिएको उजुरी आए कारबाही गर्छौँ।’ प्राधिकरणले अहिले प्रतियुनिट अधिकतम १३ रुपैयाँसम्म महसुल लिँदै आएको छ।
उनले घर बहालमा बस्नेहरुलाई विजुलीको दर/रेटबारे जानकारी लिएर त्योभन्दा बढी नतिर्न आग्रह गरे । प्राधिकरणले खपतका आधारमा प्रति युनिट तीन रुपैयाँदेखि १३ रुपैयाँसम्म महसुल लिन्छ । तर, कतिपय घरबेटीहरुले भाडावालासँग २० रुपैयाँसम्म असुल्ने गरेको उजुरी आएको प्राधिकरणले जनाएको छ ।
घिसिङले भने, ‘यस्तो प्रवृत्तिले प्राधिकरणप्रति नै जनमानसमा गलत धारणा विकास हुन सक्ने भएकाले हामीले गम्भिरता पूर्वक लिएका छौं ।’
आफ्नो सफल कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा घिसिङले पत्रकार सम्मेलन गरेका हुन्।
