काठमाडौँ: नेपालले देशभित्र भएका उत्तर कोरियाको लगानी हटाउने भएको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आफ्ना सदस्य राष्ट्रहरुलाई उत्तर कोरियाली लगानी हटाउने निर्णय पारित गरेपछि नेपालले पनि उत्तर कोरियाली नागरिक संलग्न औद्योगिक तथा व्यावसायिक लगानी हटाउने भएको हो।

 

राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ। सोही कारण उत्तर कोरिया वा उसका नागरिकसँग व्यापारिक तथा व्यावसायिक सम्बन्ध लगाउन सदस्य राष्ट्रले नपाउने भएका कारण नेपालले पनि हटाउने पहल सुरु गरेको हो। परराष्ट्र मन्त्रालयले गत असार ३ गते उद्योग मन्त्रालय हुँदै उद्योग विभागमा नेपालमा रहेको लगानी हटाउन पत्राचार गरेको थियो। सोहीअनुसार गत साउन २४ गते उद्योग विभागले सरकारले असोज २८ गतेभित्र आफ्नोे लगानीमा सञ्चालित उद्योग बन्द गरेर लगानी फिर्ता लैजान परिपत्र गरेको हो।

 

विभागका निर्देशक प्रेम लुइँटेलले भने, नेपालमा रहेको नौवटा कम्पनीलाई आफनो लगानी लिएर स्वदेश फिर्ता हुन आग्रह गरिएको छ। विभागले उत्तर कोरियाली दूतावासमा समेत उक्त जानकारी गराइसकेको जनाएको छ।

 

कम्पनीका सञ्चालकको भिसा म्यादथप नगर्ने गरी सरकारको निर्णय भएको विभागले जानकारी दिएको छ। नेपालमा रेस्टुराँमा प्रायः उत्तर कोरियाली लगानी रहेको छ।

 

विभागका अनुसार होटल रिमिन एण्ड रेष्टुरेन्ट, पोङयाङ अकुग्यान नेपाल, योङबोङ चाण्ड आइटी कम्पनी, बोटोङगाङग रेष्टुरेन्ट एण्ड बार, मिनस रेष्टुरेन्ट एण्ड बार, हिमाल चिल्बो टेक्निकल सोलुसन, पोङयाङ अकुग्यान रेष्टुरेन्टलगायतमा उत्तर कोरियाली लगानी रहेको छ। तनहुँको दमौलीमा रहेको नेकोर्यो अस्पतालमा समेत उत्तर कोरियाली लगानी रहेको बताइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version