बाजुरा : जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन् ।

 

बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भएपनि बिक्री हुन नसकेको हो ।

 

दशैँ तिहार आउनअगावै चामल किन्नेको घुइँचो हुने संस्थानमा पछिल्लो समय चामल बिक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले बताए ।

 

उनले भने , “कम मात्रामा चामल बिक्री हुन थालेपछि दशैँ र तिहारका लागि संस्थानको गोदाममा चामल प्रशस्त रुपमा रहेको छ । यो वर्षको चाडपर्वमा चामलको कुनै अभाव हुने छैन ।”

 

बजारका पसलहरुमा सहजै चामल पाउन थालेपछि संस्थानको चामल कम मात्रामा बिक्री हुन थालेको प्रमुख ओझाको दाबी छ ।

 

खाद्य संस्थान बाजुराले प्रतिकिलोग्राम मोटो चामल रु ४५, सोना मनसुली रु ४८ र जिरा मसिना चामल रु ६२ का दरले बिक्री गर्दै आएको छ ।

 

“बजारको मूल्यभन्दा रु पाँचभन्दा कम मूल्यमा बिक्री गर्दा पनि चामल लिने उपभोक्ताहरु खासै आउने गरेको छैन्”, प्रमुख ओझाले भने ।

 

उनका अनुसार, विगतमा दैनिक १५० जनाले चामल किन्न संस्थानमा आउने गर्दथ्यो तर यो वर्ष दैनिक ४० जना पनि मुस्किलले चामल किन्न संस्थानमा आउने गरेका छन् ।

 

संस्थानका चामल खरिद गर्ने उपभोक्ताहरु ह्वात्तै घटेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

यसरी चामल किन्ने उपभोक्ताहरु घट्दै जाने हो भने गोदाममै चामल कुहिन सक्ने अवस्था आउन सक्छ, शाखा प्रमुख ओझाको भनाइ छ ।

दशैँमा खाद्य अभाव नहुने

यस वर्षको दशँै र तिहारमा खाद्य अभाव नहुने भएको छ ।

 

गोदाममा चामल यथावत रहेकाले खाद्यवस्तुको अभाव नहुने प्रमुख ओझाले जानकारी दिए ।

 

सदरमुकाम मार्तडीस्थित संस्थानको गोदाममा दुई हजार ४८२ क्विन्टल र कोल्टीको गोदाममा दुई हजार ६९७ क्विन्टल गरी कूल ५ हजार १७९ क्विन्टल चामल रहेको प्रमुख ओझाले जानकारी दिए ।

 

विगतका वर्षजस्तै जिल्लामा चालम छैन । खाद्य अभावले सङ्कट निम्त्याउँला भन्ने आशङ्का नरहेको उनको भनाइ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version