खोटाङ: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा रहेको बताउनुभएको छ ।

खोटाङको दिक्तेलमा आज आयोजित पार्टीको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रममा उहाँले संविधानमाथि आक्रमण हुने सम्भावना देखिएकाले सबै मिलेर संविधानलाई जोगाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “यो सरकारले कुनै माखो मार्नेवाला छैन । आजका मितिसम्म विकासको कुनै योजना तर्जुमा गर्न सकेको छैन । अब नेपाली जनताले सोच्ने र प्रतिकार गर्ने बेला आएको छ ।”

उहाँले काङ्ग्रेसलाई कसैले हराउन नसक्ने भए पनि गुट–उपगुटले आफैँ ध्वस्त भएको बताउनुभयो । “काङ्ग्रेसको विचार र इतिहास सुन्दर छ । तर, पार्टीलाई गुट–उपगुटले ध्वस्त पारेको छ”, उहाँले भन्नुभयो, “एउटाले टिकट पाए सबैले जिताउनु पर्नेमा हराउनुपर्छ भनेर लाग्छन्, अनि कहाँबाट काङ्ग्रेसको जित हुन्छ ! तिक्तताले हामीलाई धरासायी पारेको छ । आगामी दिनमा आपसमा रहेको तिक्ततालाई अन्त्य गरेर अगाडि बढ्नुपर्छ ।”

हालसम्म काङ्ग्रेसले गरेका राम्रा कामको प्रचार नगरिएको उल्लेख गर्नुहुँदै महामन्त्री कोइरालाले अबका दिनमा काङ्ग्रेसको योगदानको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । “नेपालमा भएका महत्वपूर्ण परिवर्तन काङ्ग्रेसको नेतृत्वमा भएको छ”, उहाँले भन्नुभयो, “प्रचारप्रसार गर्न नसक्दा यसको फाइदा अरुले उठाइरहेका छन् ।”

नेपाली काङ्ग्रेस खोटाङले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौँ कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशी कार्यकर्तालाई महामन्त्री कोइरालाले अबिर लगाएर स्वागत गर्नुभएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version