गोरखा: नेपाल खाद्य संस्थान गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न शुरु गरेको छ ।

गोरखा सदरमुकाम क्षेत्रका उपभोक्तालार्ई लक्षित गरी संस्थानको कार्यालय पाटेचौरबाट सहुलियदरमा चामल बिक्री गर्न शुरु गरेको संस्थानका गोरखा शाखा प्रमुख नवीन बस्नेतले जानकारी दिनुभयो ।

संस्थानले यही भदौ २७ गते निणर्य गरी असोज २ गतेदेखि जिल्लामा सहुलियतको चामल बिक्री शुरु गरेको उहाँले बताउनुभयो ।

“निणर्य छिटो गरेको भए पनि खाद्य संस्थानको केन्द्रीय कार्यालयबाट चामल मगाउनुपर्ने भएकाले तीन÷चार दिन ढिलो गरि बिक्रि शुरु गरेका हौ”, उहाँले भन्नुभयो, “दशै तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेको बिक्री शुरु गरिएको हो ।” उहाँले आउँदो कात्तिक १६ गतेसम्म संस्थानको कार्यालयबाट उपभोक्तालाई सहुलियतमा चामल बिक्री गरिने जानकारीसमेत दिनुभयो ।

“यो वर्ष चाडपर्वका लागि सहुलियतमा बिक्री गर्न तत्कालका लागि २१० क्वीन्टल चामल केन्द्रीय कार्यालयबाट स्वीकृत प्राप्त भएको छ”, प्रमुख बस्नेतले भन्नुभयो, “निर्धारित कोटाले अपुग भए थप चामल मगाउन सकिन्छ ।” संस्थानले अहिले जिरा मसिनो र सोना मनसुली गरी दुई थरीको चामल बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

“दुवै प्रकारको चामलमा पहिलोको तुलनामा प्रतिकिलो रु पाँच छुट दिएर बिक्री शुरु गरेका छौं”, प्रमुख बस्नेतले भन्नुभयो, “प्रतिकिलो ४४ रुपैयाँमा बिक्री गर्दै आएको सोना मनसुली अहिले प्रतिकिलो रु ३९ र प्रतिकिलो ६० रुपैयाँमा बिक्री हुँदै आएको जिरा मसिने चामल अहिले प्रतिकिलो रु ५५ मा बिक्री गरेका छौं ।” संस्थानले बिक्री गरेको चामल बजारको मूल्यको तुलनामा सस्तो रहेको उहाँको भनाइ छ । संस्थानले सबै उपभोक्तालाई सहुलियत दरमा चामल उपलब्ध गराउने जनाएको छ ।

“उपभोक्ताको मागअनुसार नै चामल उपलब्ध गराउने संस्थानको योजना छ”, उहाँले भन्नुभयो, “माग बढी नै भयो भने फेरि केन्द्रलाई आग्रह गरे थप कोटा स्वीकृितका लागि पत्र पठाउँछांै ।” बजारको मूल्यभन्दा सस्तो दरमा संस्थानले चामल उपलब्ध गराएपछि बिक्री राम्रो हुन थालेको प्रमुख बस्नेतको भनाइ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version