बर्दिया: राजापुर नगरपालिका–५ का लक्ष्मण थारुले एक वर्षअघि स्थानीय एक सहकारीबाट ब्रोइलर कुखुरा पालन गर्ने भनी एक लाख ऋण लिए।
त्यही पैसाले केही कुखुरा किनेर व्यवसाय पनि थाले। त्यत्तिकैमा भारतीय नेटवर्किङ बिजनेस कम्पनी ओरियन्सको एजेन्ट भएर काम गरेमा छोटो समयमै लाखौ रुपैयाँ कमाउन सकिने सपना उनलाई देखाइयो।
उनी ओरियन्सको सदस्य बन्न ९६ हजार रुपैयाँ बोकेर भारतको लखिमपुर हानिए। कुखुरा पाल्न सहकारीबाट लिएको पैसा बुझाएर उनी ओरियन्सको सदस्य बने अनि त्यहाँबाट केही औषधि पनि ल्याए। चिकित्सकसँग सल्लाह लिँदा ती शक्तिवद्र्धक औषधि भएको खुल्यो।
‘छोटो समयमै धनी बन्ने सपना देखेर कुखुरा पालन व्यवसाय छाडेर ओरियन्सको सदस्य भएँ तर धनी बन्ने सपना देखाउने सो कम्पनीले नै ठगी गरेर मलाई डुबायोे,’ उनले नागरिकसँग भने, ‘सहकारीको ऋण तिर्न अहिले मजदुरी गरिरहेको छु।’ खोर बनाएर धेरै कुखुरा पाल्ने योजना बुनेका उनी ओरियन्सको सदस्य बनेर छोटै समयमा धनी बन्ने सपना देख्दा अहिले ‘घर न घाट’ का भएका छन्।
यस्तै ठाकुरबाबा नगरपालिका–५ गोविन्दपुरका १८ वर्षीय आभासका हजुरबुवालाई खुट्टा झमझमाउने, फोका उठ्ने र घाउघटिरा आउने रोग थियो। भारतीय नेटवर्किङ ओरियन्स कम्पनीको सदस्य बनेका उनलाई कम्पनीले हजुरबुवाको रोग निको हुन्छ भनेर औषधि दियो। तर त्यो औषधिले हजुरबुवाको रोग ठीक हुनुको साटो झन् बल्झियो। आभासका बुवा भागीराम थारु अर्कैको खेत कमाउँछन्।
ओरियन्सको सदस्य बनेर ठगिएका धेरैजसो १८ देखि २५ वर्ष उमेरका बेरोजगार र गरिब युवा छन्। आफन्तले आफन्तलाई नै सदस्य बन्न लगाउँदा यसको जालो फैलिएको पाइएको छ। ओरियन्सका नेपाल नाइकेलाई पक्राउ गर्न प्रहरीले अनुसन्धान तीव्र पारेको छ।
अरुको खेत कमाउँदा पनि उनको परिवारलाई बिहानबेलुका हातमुख जोर्न हम्महम्मे पर्छ। भागीराम मध्यपश्चिम विश्वविद्यालयमा सहयोगीका रुपमा पनि काम गर्छन्।
उनकी पत्नी नेपालगन्ज बजारमा मजदुरी गर्छिन्। आभास छिमेकी सहकारी संस्थाबाट ऋण लिएर भारतीय नेटवर्किङ कम्पनी ओरियन्सको सदस्य बनेका थिए। त्यो कम्पनीले ठगेपछि ऋण तिर्न उनका सामु मजदुरी गर्नुबाहेक विकल्प छैन।
लक्ष्मण र आभासजस्तै ओरियन्सपीडित धेरै छन्। गरिब युवालाई छोटै समयमा धनी बन्ने सपना देखाएर लुट मच्चाइरहेको ओरियन्स कम्पनीमा नलाग्न अरुलाई सचेत गराउनुपर्ने र सदस्य बन्न लगाउनेलाई गाउँगाउँबाट लखेट्नुपर्ने खैरीचन्दनपुरका शिक्षक माधव निगम बताउँछन्। ‘यसअघि भारतीय नेटवर्किङ कम्पनी विनविनले ठगिरहेको थियो,’ उनले भने, ‘उसले पनि सोझा धेरै नेपालीलाई सदस्य बनाएर ठग्यो।’ भविष्यको सपना देखाएर भारतीय नेटवर्किङ कम्पनीहरूले ठगी गर्दै आएको उनले बताए। यो समाचार नागरिक दैनिकबाट लिएको हो ।
