काठमाडौँ: प्रधानमन्त्री केपीशर्मा ओलीले सोमबार नागढुंगा-सिस्नेखोला सुरुङमार्गको शिलान्यास गरेका छन्। नेपालकै पहिलो सुरुङमार्ग २२ अर्ब रुपैयाँ लागतमा ४२ महिनाभित्र निर्माण सकिनेछ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँसहितको यो सुरुङमार्ग ५.५६ किमी लामो हुनेछ। पहिलो पटक नौविसे-नागढुङगा सडक खण्डमा दुईवटा फ्लाई ओभर सहितको सुरुङमार्ग निर्माण गर्न लागिएको हो।

महिना सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र जापानीज कम्पनी हाज्मा/आन्दो कर्पोरेशनवीच निर्माण सम्झौता भएको थियो। सम्झौता बमोजिम ४२ महिनामा जापानीज कम्पनीले सुरुङमार्ग तयार पारेर नेपाललाई हस्तान्तरण गर्नुपर्नेछ।

सम्झौंता हुनु अघि प्रधानमन्त्रीको सचिवालयले नेपालस्थित जापानको राजदूत र हाज्मा/आन्दो कर्पोरेशनका प्रतिनिधीलाई बोलाएर तोकिएकै समयमा निर्माण सक्नुपर्ने शर्त राखेको थियो। ‘यो नेपालका लागि प्राइड प्रोजेक्ट हो। यो तोकिएकै समयमा पूरा होस् भन्ने हामीले चाहेका छौं’, उनीहरुलाई भनिएको थियो,’हाम्रो तर्फबाट समयमा परियोजना सक्न सबै सहयोग हुनेछ।’

शिलान्यास भएपनि काम तिहारपछि मात्रै सुरु हुने छ। सुरुङमार्गमा कामदारभन्दा पनि उच्चतम प्रविधिका उपकरणहरु प्रयोग गरेर निर्माण गरिने निर्माण कम्पनीका प्रतिनिधीहरुले बताएका छन्। ‘मेसिन बेस’ भएर यो सुरुङमार्ग निर्माण हुनेछ।

सुरुङमार्गसँगै समानान्तर हुने गरि स्केप्ट टनेल निर्माण हुनेछ। जुन प्रत्येक २ सय ५० मिटरमा मुख्य सुरुङमार्गसँग भित्र बाहिर गर्न मिल्ने गरि जोडिनेछ। भित्र दुर्घटना भए वा समस्या आए बाहिर निस्कनका लागि प्रयोग हुनेछ। एम्वुलेन्स समेत सहजै हिड्न सक्ने गरि स्केप्ट टनेल निर्माण हुनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version