काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सत्ता हस्तान्तरण वा पार्टीमा कार्यकारी अध्यक्षको विवाद भइरहँदा अर्का नेता माधवकुमार नेपाल भने मौन बसेका छन्।
पार्टी एकताको बेला भएका समझदारी कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दै पार्टीका अध्यक्ष दाहालले पार्टीका नेतासँग गुनासो गर्दा नेपाल भने मौन बसेका हुन्। उनले पार्टीका पछिल्ला गतिविधि र ओली दाहालबीच देखिएको आन्तरिक विवादमा केही पनि बोलेका छैनन्।
पार्टी एकताको समयमा भएको मध्ये आलोपालो प्रधानमन्त्री बन्ने समझदारी कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दे पूर्वएमालेका नेतासँगको भेटघाटलाई अध्यक्ष दाहालले तिव्रता दिएका थिए।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी वा सरकारमध्ये एक जिम्मेवारी दिने आश्वसन दिए पनि बेलाबखत धोका महशुस गर्दै आएका छन्। ओलीले भने समय नै नआई दाहालले हतार गर्न थालेको भन्दै समयआएपछि कार्यान्वययनतर्पm जाने बताउन थालेका छन्। दसंैलगत्तै दाहालले सचिवालय सदस्य ईश्वर पोखरेललाई घरमै पुगेर भेटघाट गरेका थिए।
पोखरेलसँग करिब डेढ घण्टा छलफल गरेका दाहालले झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमसँग पनि छलफल गरेका थिए। पार्टी एकतापछि दाहाल र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो। तर पछिल्लो समय कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने विषयमा दाहाल पोखरेल एक ठाउँमा उभिएका छन्।
