न्युयोर्क– संयुक्तराज्य अमेरिकाले जलवायू परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग्गिएको राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ ।

केही वर्षअघि फ्रान्सको राजधानी पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्ने भन्दै विश्वका नेताहरुको सहभागितामा बनाइएको पेरिस सम्झौताबाट अलग्गिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै घोषणा गरेका थिए ।

 

यस सम्झौतामा भएका कतिपय प्रावधानका कारणले अमेरिकालाई अनावश्यक रुपमा आर्थिक भार थपेको अमेरिकाको भनाई थियो ।

 

प्राप्त समाचारअनुसार यस प्रयोजनका लागि संयुक्तराज्य अमेरिकाले संयुक्त राष्ट्रसंघलाई मङ्गलबार औपचारिक पत्र पठाएको हो ।

 

यस निर्णयसम्बन्धी आफ्नो जानकारीका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसलाई मङ्गलबार पत्र लेखेर औपचारिक रुपमै जानकारी गराएको राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ताले अमेरिकाले पत्र लेखेको पुष्टि गरेका छन् ।

 

अमेरिकाले उक्त सम्झौतामा भएका प्रावधानहरुको पालना गर्न नसक्ने भन्दै आएकोमा नोभेम्बर ४ देखि आफू अब सो सम्झौताबाट नै पछि हटेको औपचारिक रुपमा पत्र आएको प्रवक्ताले जानकारी दिए ।

 

सन् २०१५ मा सम्पन्न भएको सो सम्झौतामा अमेरिकाले सन् २०१६ को अप्रिल २२ मा हस्ताक्षर गरेको थियो ।

करिब १ महिना अघि नै अमेरिकाको यस योजनाबारे संयुक्त राष्ट्रसंघलाई अमेरिकाले जानकारी गराएको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रसंघलाई यस बारेमा औपचारिक रुपमा नै जानकारी दिएका थिए ।

 

जलवायू परिवर्तनका क्षेत्रमा ऐक्यबद्ध भएर लड्ने प्रतिवद्धता व्यक्त भएको सो सम्झौतामा विश्वका अमेरिकासहितका विश्वका एक सय ८८ देश सहभागी छन् ।

 

राष्ट्रसंघीय प्रवक्ताले अमेरिकाले दिएको सो पत्र प्राप्त भएकोले राष्ट्रसंघले सोही बमोजिम काम गर्ने भन्दै यही नोभेम्बर ४ देखि नै अमेरिका सो सम्झौताबाट अलग भएको कुरा प्रावधान कार्यान्वयनमा आउने जानकारी दिएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version