पोखरा: पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने चाहना डेढ वर्षपछि पूरा हुँदै छ। २०७८ वैशाखदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइट अपरेसन सुरु गरिने छ।
एक वर्षभित्रमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य टुग्याउने योजनासहित काम धामधम भइरहेको छ। बहुप्रतिक्षित दीर्घकालीन राष्ट्रिय योजनाका रुपमा रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सन् २०२० डिसेम्बरभित्रमा (२०७७ मंसिरसम्म) सबै काम टुंग्याएर केही रयलपयल काम सकेर फ्लाइट अपरेसन सुरु गरिने विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए।
‘क्षेत्रीय विमानस्थल निर्माण कार्यको ५० प्रतिशत टुंग्याइसकिएको छ,’ आयोजना प्रमुख मुनंकर्मीले भने, ‘सिभिल कन्स्ट्रक्सनको काम पनि अब केही महिनाभित्रै टुंग्याउने छौं। त्यसपछि इक्विपमेन्ट खरिद गरेर इन्ट्सलेसन गरेर टुंग्याउने छौं।’
अहिले १४ वटा भवनको भौतिक संरचनाको काम भइरहेको छ। उनले सन् २०२० को जनवरीमा फिनिसिङ गरिने उनले सुनाए। २५ सय मिटर लामो रन वे तयार भइसकेको छ। विमान पार्किङ स्थलसम्म आउने ट्याक्सी वे (बाटो)को काम टुंगिएको छ। विमान पार्किङका लागि एप्रोन पनि पूरा भइसकेको छ। आन्तरिक रुपमा रहेको पानी निकासका लागि नहरको व्यवस्थापन गरिएको छ। ‘१४ वटा भवनमा १२ वटा भवनको आरसिसी स्ट्रक्चर सकिएको छ,’ आयोजना प्रमुख मुनंकर्मीले सुनाए। आठवटा भवनको प्लास्टरको काम भइरहेको छ।
