काठमाडौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै अनशन तोड्न आग्रह गरेका छन ।
मन्त्रालयद्वारा आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा केसीले उठाएका सबैजसो माग पूरा भइसकेको भन्दै चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्न डा. केसीलाई अपिल गरे ।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका डा केसी ६ दिनदेखि १७औँ पटक डडेल्धुरा पुगेर अनशन बसेका छन् । डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डा केसीका समर्थकले प्रदर्शन गर्दै आएका छन् ।
मन्त्री पोखरेलले भने, “अहिले सिङ्गो देश कालापानी र लिपुलेकलगायत नेपाली भू–भाग अतिक्रमणको बहसमा केन्द्रित भएको अवस्थामा अनशन तोडेर राष्ट्रियताको विषयमा केन्द्रित हुन आग्रह गर्दछु ।”
मन्त्री पोखरेलले शिक्षा नीति र विज्ञान प्रविधि नीतिको टुङ्गो लागिसकेको जानकारी दिएका छन ।
उनले समग्र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए ।
शिक्षासम्बन्धी कार्यक्रममा भाग लिन मन्त्री पोखरेल आजै फ्रान्सको राजधानी पेरिस प्रस्थान गर्दैछन ।
