काठमाडौँ: काठमाडौं जिल्ला अदालतले दरबारमार्गको होटेल ल्याण्डमार्कमा भएको सामुहिक बलात्कार काण्डका मुख्य अभियुक्त शैलेस कार्कीलाई ५ वर्ष २ महिना कैद र पीडित युवतीलाई सात लाख क्षतिपूर्ती भराउने फैसला गरेको छ।
न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले कार्तिक २१ गते आंशिक अभियोग मागदाबी पुग्ने भन्दै अन्य दुई अभियुक्त पुत्र विकास गौतम र दीपक श्रेष्ठलाई जनही १४ महिना कैद सजाय सुनाएको हो।
गौतम र श्रेष्ठ एक ठेकेदारका पुत्र हुन्।
सरकारी वकिल कार्यालयले कार्कीसहित तीन जनाविरुद्ध २०७५ जेठ ४ मा मुलुकी ऐनको जर्बजस्ती करणी महल अनुसार सजाय मागदाबीसहित मुद्दा दर्ता गरेको थियो।
दरबारमार्गको होटल ल्यान्डमार्कमा २०७४ माघ ७ मा एक युवतीमाथि उनकै प्रेमीको सहयोगमा चार जनाले सामुहिक बलात्कार गरेका थिए।
प्रहरीले घटनाको अनुसन्धानमा संगठित अपराध निवारण ऐन अनुसार कारबाही थालेको थियो। सामुहिक बलात्कारको घटनाका आरोपी विकास गौतम ‘क’ श्रेणीको निर्माण कम्पनी मोतिदान कन्स्ट्रक्सनका सञ्चालक तथा नेकपा एमालेका नेता रामबहादुर गौतमका छोरा हुन्। प्रहरी मिसिल अनुसार काभ्रेको चौरी देउराली गाउँपालिका स्थायी ठेगाना भएका विकास समेत सोही कन्स्ट्रक्सन कम्पनीमा कार्यरत रहेका छन्।

यस्तै अर्का आरोपी दीपक श्रेष्ठ सिन्धुपाल्चोकको लिशंखु गाउँपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा हुन। स्थानीय लालबहादुर श्रेष्ठका २९ वर्षे छोरा दीपक चीन सीमाबाट हुने तस्करीमा समेत संलग्न रहेका व्यवसायी रहेको खुलेको छ। प्रहरीका अनुसार घटनामा संलग्न रहेका रवि पौडेलको भने नामबाहेक अन्य विवरण खुल्न सकेको छैन्।
के हो घटना ?
दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा पूर्व योजनाअनुसार कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलले एक १८ वर्षे युवतीको २०७४ माघ ७ को राति सामुहिक बलात्कार गरेका थिए।
पीडित युवतीले घटनाको अर्कोदिन बिहान (माघ ८) मा वृत्त दरबारमार्गमा दिएको ठाडो जाहेरीमा आफुलाई सामुहिक बलात्कारपछि पनि नग्न तस्बिर खिच्ने कार्य गर्नुका साथै गालीगलौज गरिएको उल्लेख छ।
नेपालखबरसँग सुरक्षित उक्त पत्रमा युवतीले घटनाका दिन आफू काँडाघारीस्थित एक जना साथीको घरमा गइरहेका बेला मुख्य आरोपी कार्कीले फोन गरेर घर पु¥याउने शर्तमा बोलाएको उल्लेख छ। पीडित युवतीले लिखित पत्रमा आरोपी कार्कीले अत्यन्त जरुरी रहेको भनेपछि आफू लाजिम्पाटस्थित भुमि क्याफेमा आएको बताएकी थिइन्।
क्याफेमा कार्की बाहेक अन्य आरोपी ठेकेदार विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेल पहिलेदेखि बसिरहेका थिए। कार्कीको अनुरोधमा दुई गिलास वाइन र मम खाएपछि आफूलाई केही असजिलो भएको युवतीले लिखित जाहेरीमा उल्लेख गरेकी छन्।
अनुसन्धान प्रतिवेदनअनुसार पीडितलाई लैजानुअघि नै होटलमा दीपक श्रेष्ठका नाममा १० जनाका लागि भन्दै पाँचवटा कोठा बुक गरिएको उल्लेख छ। होटल बुक गर्न शैलेस कार्की र आवास लामाको सवारी चालक अनुमतिपत्र प्रयोग भएको थियो।
दरबारमार्ग प्रहरीले आर्थिक प्रलोभनमा वृत्तमै घटना मिलाएको बाहिरीएपछि डीएसपी तिलक भारतीलाई जिम्मेबारीबाट फिर्ता बोलाउदै प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारीलाई निलम्बन गरेर अनुसन्धान भएको थियो। हाल डीएसपी भारती सप्तरीमा कार्यरत छन्।