काठमाडौँ: मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको अभियोग लागेका निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जनालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ।

 

मंगलबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला अदालत ललितपुरले जनाएको छ।

 

अदालतले काठमाडौं-२६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा-३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका-९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आलेलाई थुनामा पठाएको हो।

 

भट्टराई निदान अस्पतालका कानुनी सल्लाहकार र आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत हुन्।

 

उनीहरूको मिलेमतोमा एक बिरामीको मिर्गौला शंकरलाल लामालाई विक्री गरिएको प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्युरोले जनाएको छ।

 

ब्युरोका प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार नक्कली व्यक्ति खडा गरी मिर्गौला लामालाई प्रत्यारोपण गराइएको थियो।

 

थपलियाका अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरले मिर्गौला प्रत्यारोपणका लागि एकको अनुमति दिएकोमा आलेले अर्कै व्यक्ति खडा गराउने कागज तयार पारेका थिए।

 

मिर्गौला दिने व्यक्ति र लिने व्यक्ति आफन्त हुनुपर्छ र स्वीकृतिको कागजात तयार भएपछि मात्र मिर्गौला प्रत्यारोपणको प्रक्रिया अघि बढ्छ।

 

आलेले नक्कली आफन्त खडा गरेर कागजात तयार पारेको भन्दै उनीहरूलाई प्रहरीले असोज २९ गते पक्राउ गरेको थियो।

 

त्यसपछि पाँचै जनालाई पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान गरी मुद्दा अदालतमा लगेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version