काठमाडौँ : तोकिएभन्दा बढी शुल्क लिने निजी मेडिकल कलेजले आजबाट अतिरिक्त शूल्क फिर्ता नगरे कानूनी कारवाही थालिने भएको छ ।
हिजो मंगलबार मध्यरातिसम्म शिक्षा मन्त्रालयमा बसेको सरकार र मेडिकल कलेजका सञ्चालकबीच दुई बुँदे सहमित भएको थियो।
जसअनुसार निजी मेडिकल कलेजले आज बुधबारबाट विद्यार्थीसँग लिएको बढी शूल्क फिर्ता गर्ने सहमति जनाएका छन् ।

सहमतिमा अतिरिक्त शूल्क फिर्ता नगर्नेलाई आज बुधबारदेखि कानूनी कारवाही अगाडि बढाउने निर्णय भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहित सरकारी वार्ता टोली र मेडिकल कलेज सञ्चालकबीच साँझ ८ बजेदेखी बैठक बसेको थियो ।
शुल्कको विषयलाई लिएर मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा थिए ।
सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर चरणवद्ध आन्दोलन गर्न थालेपछि सरकारले शुल्कको विषयमा छानविन शुरु गरेको थियो ।
राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजहरुले विद्यार्थी भर्नामा २ अर्व ८५ करोड १३ लाख १६ हजार २ सय ९७ रुपैयाँ बढी लिएको तथ्यांक सहित कारबाहीका लागि सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
केन्द्रको प्रतिवेदन पछि सरकाले मेडिकल कलेजहरुलाई कात्तिक २५ गते १५ दिन भित्र शुल्क फिर्ता गर्न अन्तिम अल्टिमेटम दिएको थियो ।
तर सरकारको अन्तिम अल्टिमेटम हिजो मंसिर १० गते सकिँदा पनि मेडिकल कलेजहरुले शुल्क फिर्ताको प्रक्रिया शुरु गरेका थिएनन् ।
यसअघि सरकारले बढी शुल्क लिएका मेडिकल कलेजलाई उक्त शुल्क फिर्ता लिन आजसम्म अल्टिमेटम दिए पनि मेडिकल कलेजले रकम फिर्ता नगर्ने अडान लिदैँ आएका छन् ।
–––