काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आज सुरु हुँदै छ। नेपालले सन् २०१६ मा यो प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको थियो। नेपालले जिम्मेवारी पाएको दुई वर्षभित्र यो प्रतियोगिता आयोजना गर्नुपथ्र्यो। तर, अपर्याप्त भौतिक पूर्वाधारका कारण पटकपटक प्रतियोगिता स्थगित हुँदै आएको थियो।

चौथो पटक तोकिएको मितिमा आएर १३औं सागले साकार रूप लिने अवसर जुरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्नेछिन्। १३औं सागकै लागि रंगशाला पुनर्निर्माण गरिएको हो। विनाशकारी भूकम्पले रंगशालामा समेत क्षति पुर्‍याएको थियो। त्यसयता रंगशालामा हुन लागेको यो पहिलो प्रतियोगिता हो।

सागलाई दक्षिण एसियाली क्षेत्रको ‘मिनी ओलम्पिक’ का रूपमा हेरिन्छ। यसपटक प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन्। यसअघि सागमा आठ राष्ट्रको सहभागिता रहने गरेको थियो। यो संस्करणदेखि अफगानिस्तानले सागमा भाग नलिने निर्णय गरेको छ।

२४ मंसिरसम्म चल्ने प्रतियोगितामा सात देशका खेलाडी, पदाधिकारी र प्राविधिक गरी ६ हजार ५०० ले सहभागिता जनाउँदै छन् । त्यसमध्ये ३ हजार खेलाडी, १ हजार अफिसियल, २ हजार २७० रेफ्री, जज र जुरी रहनेछन् । २८ खेलमा ३१६ स्वर्णसहित १ हजार १११ पदकका लागि प्रतिस्पर्धा हुने सागमा नेपालबाट ६९४ खेलाडी दर्ता गरिएको छ ।

यद्यपि अन्तिम समयमा आएर अफगानिस्तानले केही खेलमा भाग लिने प्रस्ताव गरेको थियो। तर, अफगानिस्तानको उक्त प्रस्ताव अस्वीकार भयो।

नेपाली खेल अधिकारीहरुले १३औं सागको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्। युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए। ‘मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले साग समुद्घाटन गर्नुहुनेछ। यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ’, उनले भने। उनले सागमा सहभागी हुन आउने विशिष्ट पाहुना र अतिथिलाई स्वागत गर्न आफूहरू व्यग्र प्रतीक्षामा रहेको बताए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले प्रतियोगिताको तयारी पूरा भएको बताए। उनले भौतिक संरचना निर्माणकार्य सम्पन्न भएको जानकारी दिए। विदेशी पाहुना र खेलाडीको बसोबाससम्मको सम्पूर्ण तयारी पूरा भइसकेको सिलवालले बताए।

प्रतियोगिता समापन समारोह मंसिर २४ साँझ दशरथ रंगशालामा हुनेछ। १३औं सागमा २७ वटा खेल समावेश गर्ने घोषणा गरिएको थियो। तर, प्याराग्लाइडिङमा नेपालबाहेक अन्य देशले सहभागिता नजनाएपछि खेल संख्या घटेर २६ पुगेको छ। १३औं सागका खेल नेपालका तीन सहरमा हुनेछन्। एक खेल जनकपुरमा हुनेछ भने आठवटा खेल पोखरामा खेलाइनेछ। अन्य खेल भने काठमाडौं र ललितपुरका विभिन्न स्थानमा हुनेछन्।

 

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version