बलेवा: बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित हुनुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा शाहीले नेपाली काँग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गर्नुभएको हो ।

शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले नौ हजार १३८ मत ल्याउनुभयो । बागलुङ क्षेत्र नं २ (ख) बाट दुई जना स्वतन्त्रसहित १० उम्मेदवार चुनावी मैदानमा थिए । तेस्रो हुनुभएका समाजवादी पार्टीका अशोककुमार विकले ३१६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा(संयुक्त)का निमबहादुर भण्डारीले ३७, सङ्घीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिलकुमार राईले आठ, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३ र राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गर्नुभएको छ ।
विसं २०७४ मा भएको आमनिर्वाचनमा तत्कालीन नेकपा(एमाले) र माओवादी केन्द्रको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्य हुनुभएका टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएपछि खाली भएको बागलुङ क्षेत्र नं २ (ख) ले सोही पार्टीबाट प्रदेशसभा सदस्य पाएको छ ।

पैँतीस हजार १८४ मतदाता रहेको सो क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो । सोमध्ये ४२५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बागलुङकै बडिगाड गाउँपालिका–२मा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन विजयी हुनुभएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version