कञ्चनपुर : सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताउनुभएको छ ।

‘समानताको पुस्ता : बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित मङ्गलबार भीमदत्तनगरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले शिक्षित समाज निर्माण गर्नसके मात्रै महिलामाथिका हिंसा हट्ने बताउनुभयो ।

उहाँले समाजको थिचोमिचो सहँदै आएका मुक्त हलिया र दलित समुदाय अझै हिंसाको पीडा खेप्न बाध्य भएको बताउनुभयो । “महिलाहरुले हिंसा सहेर बस्नु पर्दैन”, उहाँले भन्नुभयो, “न्यायिक निकायमा पुगेर हिंसाको प्रतिकार गर्नु पर्दछ ।” हिंसाका घटनाहरु न्यायिक निकायमा पुगेपछि मेलमिलापमा टुङ्गिँदा यसले प्रश्रय पाउँदै आएकाले कानूनी उपचारमा लाग्नुनै श्रेयस्कर हुने उहाँले बताउनुभयो ।

मुक्त हलिया अगुवा तथा पूर्वसांसद हरि श्रीपालीले मुक्त हलिया समुदाय दलित समुदायकै व्यक्तिहरु भएकाले उनीहरुमाथि गर्ने छुवाछूत हट्न नसकेको बताउनुभयो । समाजमा दलित समुदायमाथि अझै हिंसा र थिचोमिचो व्याप्त रहेकाले त्यो हट्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले कानूनले सबै जातजाति, वर्ग र समुदायमाथि समान व्यवहार गर्ने भएकाले कानूनविपरीतका कार्य गरे कानूनअनुसार कारवाहीका लागि अगाडि सर्नुपर्ने बताउनुभयो ।

कानूनमा उल्लेख भएका प्रावधानहरु लागू गर्नसके हिंसाका घटना न्यूनीकरण गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो । प्रदेश सरकारले हिंसाविरुद्धका नीति नियम र कानूनहरु कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले आवश्यक पर्ने थप नीति नियम बनाउन तयार रहेको बताउनुभयो ।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले मुक्त हलियालाई सामाजिकरूपमा पुनःस्थापन गर्नका लागि शिक्षा, रोजगार र स्वास्थ्यको व्यवस्थासँगै नीति निर्माण तहमा पहुँच अभिवृद्धि गरी आर्थिकरूपमा आत्मनिर्भर बनाइनुपर्ने बताउनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version