कञ्चनपुर: भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको रहस्यमय मृत्यु भएको छ । बिहीबार दिउँसैदेखि हराएकी उनको शुक्रबार बिहान भीमदत्त नगरपालिका–२ र १८ को सिमानामा पर्ने निम्बुखेडाको पत्थर खोलाछेउ उखुबारीमा शव भेटिएको हो । घटनास्थल उनको घरबाट एक किलोमिटर दूरीमा छ ।

स्थानीय सरस्वती उच्चमाविको कक्षा ९ मा अध्ययनरत निर्मलाको हत्या भएको आशंका प्रहरी र आफन्तले गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेठीका अनुसार उनको बाहिरी शरीरमा कहीं पनि घाउचोट छैन । उनको मृत्युको कारण खोजी भइरहेको डीएसपी सेठीले जानकारी दिए । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

आमा दुर्गादेवीका अनुसार निर्मलाले चलाएको साइकल महेन्द्रनगर–बागफांटा सडकको छेवैमा थियो । कापी–किताब पनि साइकलमै थिए । बिहीबार दिउँसो साथी रोशनीको घर गएकी निर्मला त्यसपछि घर नफर्किएको दुर्गाले जानकारी दिइन् ।

‘गाउँकै सोझी र पढाइमा मिहिनेती थिई,’ निर्मलाकी छिमेकी विमला पन्तले भनिन्, ‘छोरीकै सहारामा आमाले गुजारा गरिरहेकी थिइन् ।’ घरैमा चटपटे पसल चलाउँदै आएकी दुर्गा बिहीबार निर्मलालाई पसल जिम्मा लगाएर सामान लिन भारतको बनवासा गएकी थिइन् । फर्केर आउँदा छोरी नदेखेपछि खोजी सुरु गरेको र साँझ प्रहरीमा खबर गरेको दुर्गाले बताइन् ।

शव भेटिएलगत्तै निम्बुखेडा र उल्टाखामका महिलाले ‘हत्यारा’ पत्ता लगाई कारबाही गर्न माग गरेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version