काठमाडौं: धनुषाको महेन्द्रनगरमा भएको बम बिष्फोटमा परी ज्यान गुमाएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको शनिबार पशुपति आर्यघाटमा स-(सम्मान दाहसंस्कार गरिएको छ।

कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गरेका ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी निरीक्षकको पार्थिव शरीरमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरूले दाहालको पार्थिव फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

साथै प्रहरी नायव महानिरीक्षकहरु, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु तथा स्व। दाहालका परिवारजन एवं आफन्तजनले समेत दाहालको पार्थिव शरीरमा फूलगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

प्रहरी निरीक्षक दाहालको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो ।

दाहालको पार्थिव शरीरमा उनका बुबा प्रकाश शर्मा दाहालले दागवत्ती दिएका थिए ।

धनुषा क्षिरेश्वरनाथ नगरपालिका(५ कुचियाही टोलमा गएराति शंकास्पद वस्तु विष्फोटन हुँदा गम्भीर घाइते हुनुभएका प्रहरी निरीक्षक दाहालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा वीरगति प्राप्त गरेका थिए।

संखुवासभामा जन्मिएका प्रहरी निरीक्षक दाहाल हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ कृष्णनगरमा बस्दै आएका थिए । वि.सं. २०५५ कात्तिक १ गते नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरेका दाहाल वि.सं.२०६० असोज ९ गते प्रहरी नायव निरीक्षक तथा वि.सं. २०७५ बैशाख १९ गते प्रहरी निरीक्षक पदमा पदोन्नति भएका थिए। दाहालका बुवा, आमा, श्रीमती र एक छोरा छन् ।

प्रहरी निरीक्षक दाहाल २०७६ साउन ८ गतेदेखि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको प्रमुखको रुपमा कार्यरत रहेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version