कास्की: सरकारले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ ।

 

फेवाताल किनारमा अवस्थित पर्यटकका लागि आकर्षणको सम्भावना बोकेका रत्नमन्दिर र हिमागृह देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनापछि समेत खुला भएका थिएनन् । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पुस १६ गते औपचारिक कार्यक्रमसहित रत्न मन्दिर खुला गर्ने तयारी सरकारको छ । पहिलो चरणमा रत्न मन्दिर र त्यसको केही महिनापछि हिमागृहसमेत खुलाउने योजना छ ।

 

गणतन्त्र घोषणापछि तत्कालीन राजा स्व वीरेन्द्र र ऐश्वर्य तथा उनीहरुको परिवारजनको नाममा रहेका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्ट मातहतमा ल्याउने सरकारी निर्णयानुसार रत्न र हिमागृह समेत ट्रष्टको स्वामित्वमा आएको थियो । रत्न मन्दिरलाई खुला गरेर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने आवाज यहाँका जनप्रतिनिधि तथा पर्यटन व्यवसायीले उठाउँदै आए पनि लामो समयपछि यसले सार्थकता पाउन लागेको हो ।

 

रत्न मन्दिर खुला गर्ने पूर्वतयारी तथा अन्य व्यवस्थापकीय कार्यका लागि नेपाल ट्रष्टका सदस्य सचिव राजेश्वर ज्ञवाली तथा ट्रष्ट सञ्चालक समिति सदस्यको टोलीले चार दिनसम्म पोखरामा रहेर सरोकारभएकासँग छलफल गरेको छ । त्यसक्रममा टोलीले प्रदेश सरकार, पोखरा महानगर तथा पर्यटन व्यवसायीसँग यसबारेमा छलफल गरेको थियो ।

 

सदस्य सचिव ज्ञवालीले दरबार खुला गर्ने निश्कर्षमा ट्रष्ट पुगे पनि अन्तिम निर्णय भइनसकेको बताए । उनले भने, “दरबार खुला गर्न अब ढिलाइ गर्नुहुँदैन उपयुक्त समय नयाँ वर्षको बेला हुन्छ भन्नेमा हामी पुगेका छौँ तर खुला गर्दा कसरी खुला गर्ने, कुन÷कुन क्षेत्रसम्म प्रवेश दिने, प्रवेश शुल्क कति राख्नेलगायतका बारेमा छलफल भयो । एउटा योजना तयार भएको छ ।”

 

राजधानी पुगेर ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग थप छलफल गरेर निर्णय लिइने ज्ञवालीले बताए । दरबार खुला गर्नेबारेमा मन्त्री पोखरेलले नै अन्तिम निर्णय गर्ने बताइएको छ । शुरुमा ट्रष्टले आफ्नै कर्मचारीबाट व्यवस्थापनको कार्य गर्ने भएको छ । ट्रष्टको पोखरा कार्यालयमा कार्यरत ११ जना कर्मचारीबाट नै व्यवस्थापनको कार्य गर्ने तयारी गरिएको छ ।

 

दरबार खुला गर्नका लागि निरन्तर आवाज उठाउँदै आएका सोही क्षेत्रका प्रदेशसभा सदस्य राजीव पहारीले अब खुला गर्ने विषयमा कुनै पनि अवरोध नरहेको बताए । ट्रष्टको स्वामित्वमा रहेका दरबार खुला गर्नका लागि अध्यक्ष, सदस्य सचिव तथा सदस्य सबैले चासो दिएको बताउँदै नेपाल भ्रमण वर्षमा २० लाख बाह्य पर्यटक ल्याउने लक्ष्य पूरा गर्न यसले सघाउने बताए ।

 

फेवाताल जलाधार क्षेत्र र रत्न मन्दिर संरक्षणका लागि प्रदेशसभा सदस्य पहारीले चालू वर्षमा पूर्वाधार विकास कार्यक्रमको रु दुई करोड बजेटमध्येबाट रु २५ लाख विनियोजन गरेको जानकारी दिए ।

 

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले रत्न मन्दिर र हिमागृह खुला हुनुपर्दछ भनेर पर्यटन व्यवसायीले एक दशकअघिदेखि आवाज उठाउँदै आएको बताए । नेपालको राजसंस्थासँग जोडिएको इतिहास र संस्कृतिलाई हेर्न पर्यटक लालायित रहेकाले दरबार पोखराको अर्को पर्यटकीय गन्तव्य बन्ने भनाइ उनको छ ।

 

यी दुई दरबारमा सर्वसाधारणको प्रवेश भएसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाई आधा दिन लम्बाउन सकिने पर्यटन व्यवसायी बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० लाई समेत यसबाट सघाउ पुग्नेमा व्यवसायीहरु विश्वस्त छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version