काठमाडौँ: माघे संक्रान्ति नजिकिएसंगै नेपाली तरकारी बजारमा तरुल ब्यापारीहरु ह्वात्तै बढेका छन् । ठेलामा होस् या तरकारी पसलमा होस् अहिले तरुल देखा पर्न थालेको छ ।
हरेक चाडपर्वको आआफ्नै मान्यता रहेको र सोही अनुरुप खाने परिकार पनि विशेष हुने गर्दछ नेपाली समाजमा । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ जसको कारण नेपाली समाजमा प्रसिद्ध उखान नै छ ‘पुसमा पाके माघमा जाके’ ।
तरुल सबै भन्दा धेरै सर्लाही जिल्लाबाट काठमाडौँ भित्रिने गरेको पाइन्छ । अन्य जिल्ला जस्तै पाल्पा, अर्घाखाँची, चितवन, नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, झापा, नुवाकोट लगायतबाट पनि काठमाडौं उपत्यकामा तरुल भित्रिने गरेको छ ।
तरुल विभिन्न प्रकारको हुने गर्दछन जस्तै घर तरुल, बन तरुल, हात्तिपाइले तरुल, सिमल, मुढे , पत्ताले , स्कुसको जरा आदि ।
तरकारीको रूपमा उपत्यकामा सबै भन्दा बढी सेतो/तराई तरुल रुचाउने गरेको सुनाउछन भृकुटीमण्डपको टुकुचास्थित हरित तरकारी बजारका ब्यापारी सिताराम सुवाल । उनका अनुसार सेतो तरुल पछि सबैभन्दा धेरै माग हात्तिपाइले तरुलको छ ।
शरीरमा ताप पैदा गर्ने र कब्जियतबाट राहत दिने भएकोले तरुलको माग बजारमा राम्रो रहेको अर्का ब्यापारी शान्ती भुसाल बताउछिन। उनले भनिन, ‘अहिलेसम्म मैले १५ थरिका तरुल बेचेको छु, तर नेपालीलाइ भने हात्तिपाइले तरुल बढी रुच्ने रहेछ ‘ ।
भुसाल थप्छिन, “माग भन्दा आपूर्ति धेरै भएर गत वर्ष तरुलको मूल्य अरु साल भन्दा सस्तो भएको थियो” । आफुले सुरुमा किन्दा महँगो परेको र वेच्ने बेला भाउ घटेर घाटा बेहोर्नु परेको गुनासो समेत उनले पोख्न भ्याईन ।
तरकारी ब्यापारी गंगा देवी श्रेष्ठका अनुसार अहिले अरु तरुलको तुलनामा घर तरुलको बिक्रि भैरहेको छ ।
बजारमा फरक तरुलको भाउ पनि फरकै छ गत बर्ष घर/सेतो तरुल प्रति किलो १०० रुपैया पर्ने तरुल यतिबेला बजारमा ७० मै पाइन्छ बन तरुलको मुल्य भने प्रति किलो २८०, हात्तीपाइलेको प्रति किलो १८०, स्कुसको जरा प्रति किलो २६० मा किनबेच भैरहेको छ
