सुरुङ्गा: तत्कालीन चारपाने गाउँ विकास समितिको चारपाने बजारमा २३ वर्ष अघि रु एक हजारको नोट खुजुरा बनाउन नसकेको सम्झना अझै ताजै छ महेन्द्रकुमार गिरीलाई । हाल विर्तामोड नगरपालिका–२ मा रहेको चारपाने आफैँमा सानो बजार, त्यसमाथि २३ वर्ष अघि एक हजारको नोट नसाटिँदा विर्तामोडसम्म जानुपरेको बाध्यता बिर्सएको छैन उनले । “बैंकको पहुँचबाट टाढा रहेका चारपानेवासीलाई घरको गर्जाे टार्न पनि साहु महाजनकहाँ जानुपर्ने बाध्यता थियो”, गिरी सम्झनछन् “चर्काे ब्याजदरमा ऋण लिएर गर्जाे टार्ने धेरै जना देखेपछि सहकारी खोल्ने सोच आयो ।”

 

वित्तीय संस्थामार्फत विपन्न समुदायको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने हेतुले नरनाथ गिरी र दुर्गा भण्डारी मिलेर चारपानेमा सहकारी खोल्ने निधो गरेको उनले बताए । गिरीले भने, “त्यसबेला ३३ जना शेयर सदस्यले रु ३४ हजार शेयर पूँजी जारी गर्दै तीन वटा गाविसमा कार्यक्षेत्र बनाई सहकारीको कारोवार शुरु गरेका थियौँ ।”

 

विसं २०५२ फागुन ११ गतेको संस्थाको प्रारम्भिक भेलामा संस्थाको नाम ‘सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ राख्ने निर्णय गर्दा शेयर पूँजी रु ३४ हजार निकाल्न हम्मेहम्मे परेको उनले बताए । “तर त्यही सहकारी संस्था अहिले आर्थिक कारोवारका दृष्टिकोणले प्रदेश नम्बर १ कै ठूलो सहकारी संस्था बनेको छ”, उनले भने ।

 

एक लाख ५१ हजारभन्दा बढी शेयर सदस्य भएको सहकारी शेयर सदस्यको हिसाबले भने नेपालकै ठूलो संस्था भएको उनको भनाइ छ । सहारा नेपाल सहकारी संस्थाको शेयर पूँजी मात्रै अहिले रु एक अर्ब २४ करोड ९६ लाख रहेको सहकारीका कार्यकारी निर्देशकसमेत रहनुभएका गिरीले बताए । उनका अनुसार संस्थाको कूल बचत रु चार अर्ब ६१ करोड ६३ लाख रहेको छ ।

 

गत आवमा रु एक अर्ब ५६ करोड आम्दानी गरेको सहकारीले खुद नाफा मात्रै रु ३६ करोड गरेको छ । चालू आवभित्र कूल पूँजी रु ११ अर्ब पु¥याउने लक्ष्यसहित सहकारीको सेवा क्षेत्रभित्रका छ जिल्लाका सबै स्थानीय तह र वडामा सेवा विस्तार गरी पाँच लाख सदस्य पु¥याउने लक्ष्य लिइएको छ । सहकारीले अहिले झापासहित इलाम, पाँचथर, मोरङ, सुनसरी र उदयपुरमा कारोवार गरिरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version