काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का केही बुँदा परिमार्जन गरेर कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
आज शुक्रबार नवलपुरमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले एमसीसीका केही बुँदाहरु सम्भव हुनेसम्म परिमार्जन गरेर अगाडि बढ्नुपर्ने बताएका छन ।
उनले भने, ‘स्थायी समितिको बैठकमा पर्याप्त छलफल गर्यौँ, एमसीसीको मुद्दा राष्ट्रियहित अनुकूल हुनेगरी, जरुरी पर्दा अमेरिकासँग पुनः संवाद गरेर, सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्नु उचित हुन्छ भन्ने स्प्रिटमा निर्णय गरेका छौँ’।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै सम्झौतालाई अगाडि बढाउने बताए।
एमसीसी कार्यक्रम धेरै पहिलेदेखि अगाडि बढ्ने गरेको र अफ्रिका र साउथ एसियाका अन्यदेशहरुमा यो प्रक्रिया बढीरहेको उनको भनाइ थियो।
‘एमसीसी प्रोग्राम अगाडि बढ्दै गर्दा अमेरिकाले फेरि दक्षिण एसियामा खासगरी इन्डोप्यासेफिक स्टाटेजी भनेर अर्को रणनीति अगाडि ल्याएपछि र त्यो इन्डो प्यासेफिक स्टाटेजी सैनिक रणनीतिका रुपमा अगाडि बढाएपछि विवाद सुरु भएको हो’, उनले भने, ‘यो विषयमा पछिल्लोपटक अमेरिकी दूतावासले १० बुँदे स्पष्टीकरण पनि आएको छ। त्यसलाई पनि विचार गरेर, नेपालको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर हामी निर्णय गर्छौँ।’
