काठमाडौं: गत पुष ७ गते प्रहरीले अवैध रुपमा बसेका तथा आर्थिक अपराधमा संलग्न भएको आरोपमा काठमाडौंका विभिन्न स्थानमा छापा मारी एक सय २२ जना चिनियाँलाई पक्राउ गर्‍यो ।

विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको त्यो नै अहिलेसम्म सबैभन्दा ठूलो अपरेसन थियो । उनीहरुलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दामा अदालतबाट ५ दिनको समय लिएर अनुसन्धान पनि गर्यो पछि केहि प्रमाणित नभएको भन्दै उनीहरुलाई पुष २३ गते चीन नै फर्काइयो ।

अपरेसनको नेतृत्व गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक डिआइजी निरज शाही चिनियाँ नागरिक आपराधिक कामकै लागि नेपाल बसेको बताउँछन् ।

विज्ञहरु भने यो घटनालाई सामान्य अपराधका रुपमा मात्र हेर्दैनन् । पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्-‘यो घटनामा चिनियाँ सरकारले नै चासो देखाएको छ । चिनियाँ प्रहरी नै नेपाल आएर रेडमा सामेल भएको छ । अनि एकैपटक ठूलो संख्यामा समातिएका छन् । यसलाई हेर्दा यो सामान्य आपराधिक घटना मात्र नहुन सक्छ । यो चीनको राष्ट्रिय चासोसँग जोडिएको विषय हुन सक्छ ।’

हुनपनि सामान्यतयाः यस्ता घटनामा चासो नराख्ने चिनियाँ सरकारले यो विषयमा भने किन चासो राखेको छ ? चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुङले मंगलबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा भएको यो अपरेसन निकै महत्वपूर्ण भएको बताएका थिए ।

उनले नेपालमा पक्राउ परेकाहरू सीमापार साइबर ठगीमा संलग्न रहेकाले नेपाल प्रहरी र चिनियाँ प्रहरीबीचको सहकार्यमा पक्राउ गरिएको जनाएका छन् । यसरी चिनियाँ सरकाले चासो राख्नुले यो विषय महत्वपुर्ण भएको बताउँछन् पूर्वडिआइजी मल्ल पनि ।

उनी भन्छन्-‘पक्राउ परेकाहरु कुनै न कुनै राजनीतिक अर्थात ठूलै राष्ट्रिय चासोमा परेका व्यक्तिहरु हुन सक्छन् । उनीहरु हङकङमा भइरहेको प्रजातान्त्रिक आन्दोलनका समर्थक या एइगुर र चिनियाँ सरकार विरोधी पनि हुन सक्छन् ।’

चिनियाँ नागरिक नेपालमा आएर अपराधमा संलगन भएको यो पछिल्लो घटना मात्र हो । यस अघि पनि पटक–पटक चिनियाँ नागरिक नेपालमा आएर अपराध कार्यमा संलग्न रहेको देखिएका छन् ।

यस्तो छ चिनियाँ नागरिकको अपराध श्रृंखला

एटीएम ह्याकीङ

गत भदौ १५ बैंकका एटीएम पीन ह्याक गरी रकम चोर्दै गर्दा प्रहरीले ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

त्यसको भोलिपल्ट पुनः अर्का एकजना चिनियाँ नागरिक समातिए । यो घटनामा चिनियाँ नागरिकलाई सहयोग गरेको भन्दै तीन नेपाली पनि समातिएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार एटीएको पीन ह्याक गरी पैसा निकाल्ने मुख्य व्यक्ति चिनियाँ नागरिक नै थिए ।

सुन तस्करी

गत मंसिर १२ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

गत साउन २० गते पनि हङकङबाट आएका चिनियाँ नागरिक ली निङ ज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबैध रुपमा ल्याइएको चार किलो सुनसहित पक्राउ परे।

त्यसअघि २०७५ चैतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै तीन जना चिनियाँ नागरिकलाई साढे तीन किलो सुनसहित पक्राउ परेका थिए ।

त्यसैगरी २०७५ बैशाख २३ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो सुनसहित एक चिनियाँ महिलालाई पक्राउ गरेको थियो । २०७४ पुस ८ गते पनि विमानस्थलबाट नै दुई किलो सुन सहित एकजना चिनियाँ नागरिक पक्राउ परे ।

२०७४ भदौ १८ गते ठमेलबाट बरामद् भएको ८८ केजी सुन तस्करीका मुख्य नाईके समेत चिनियाँ नागरिक नै भएको खुलेको थियो ।

डलर तस्करी

२०७५ कात्तिक १२ गते एक लाख २२ हजार ४ सय डलरसहित एक चिनियाँ नागरिकलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।

२०७४ असोज १३ गते, ४६ हजार ४ सय ८० अमेरिकी डलर सहित एकजना विमानस्थलबाट चिनियाँ महिलालाई पक्राउ परेकी थिईन् ।

२०७४ असोज ४ गते प्रहरीले रसुवाबाट चिनियाँ नागरिक ली वानलाई ५० हजार अमेरिकी डलरसहित पक्राउ गरेको थियो ।

बन्यजन्तु तस्करी

२०७५ भदौ ४ गते प्रहरीले समुद्री घोडा तथा बाघको छालासहित तीन जना चिनियाँ नागरिकलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा काठमाडौं वान होटेलका सञ्चालक चिनियाँ नागरिक चेन क्आङ पनि थिए ।

प्रहरीले उनिहरुको साथबाट ३०० ग्राम समुद्री घोडा, ९० ग्राम यार्सागुम्बा, ३३० ग्राम सुनाखरी र साढे ६ किलो विभिन्न प्रकारका जडीबुटी बरामद् गरको थियो ।

२०७४ माघ १५ गते १ सय ६२ केजी सालकको खपटा सहित दुई जना चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

नेपाली बेहुली चीनमा बिक्री

गत भदौमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले विवाहको बहानामा नेपाली युवती चीनमा बेचेको आरोपमा १० जनालाई पक्राउ गरेको थियो ।

जसमध्ये ६ जना नेपाली र ४ जना चिनियाँ नागरिक थिए । मानव तस्करले एक जना युवतीलाई विवाह गराए बापत चिनियाँ दलालले १० लाखसम्म दिएको पाइएको थियो ।

काठमाडौंमा बस्ने नेपाली दलालले १ देखि २ लाखसम्म, युवती राख्ने दलालले ८० हजार, युवतीको अभिभावकले ५० देखि ६० हजार वा नयाँ फोन वा जिन्सी सामग्री पाउने गरेको अनुसन्धानबाट खुलेको थियो ।

विमान भित्रै चोरीका घटना

गत भदौ ८ गते जहाजमा यात्रा गर्ने क्रममा चोरी गरेको आरोपमा २ जना चिनियाँ नागरिक पक्राउ परे । टर्किस एयरलाइन्सको जहाजबाट इस्तानबुल जान लागेको २ चिनियाँ नागरिकहरु काठमाडौंमा पक्राउ परेका हुन् ।

यी २०७४ यता तीन बर्षको अवधिमा देखिएका केही प्रतिनिधिमुलक उदाहारण हुन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार अहिलेको घटना बाहेक पछिल्लो पाँच वर्षमा विभिन्न घटनामा संलग्न एक सयभन्दा धेरै चिनियाँ नागरिक पक्राउ परिसकेका छन् ।

उनीहरूमध्ये धेरैजसो डलर र तस्करीमा संलग्न थिए । त्यस्तै, वन्यजन्तुका अंग, जडीबुटी तस्करी, ह्याकिङ तथा अवैध चिकित्सकीय अभ्यासका घटनामासमेत चिनियाँ नागरिकहरुको संलग्नता देखिएको छ ।

चिनियाँको अपराधमा संलग्नता

अनुन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार २०६० सालको आसपासदेखि नै नेपालमा चिनियाँ नागरिकहरुको अपराधमा संलग्नता देखिएको थियो ।

शुरुमा रक्तचन्दन र वन्यजन्तुका अंगको ओसारपसारमा उनीहरु भेटिएका थिए । पूर्वएआईजी जयबहादुर चन्द भन्छन्-‘२०६० साल पछि नेपालमा अबैध रक्तचन्दको कारोबार निकै फस्टाएको थियो । भारतबाट ल्याइने रक्तचन्दा नेपालीबाटो प्रयोग भएर चीनतर्फ तस्करी हुन्थ्यो ।’

चन्दले भने, ‘त्यसबेला नेपाली सँगै फाट्ट फुट्ट रुपमा चिनियाँ नागरिकको पनि संलग्नता देखिएको थियो । त्यसपनि डलर र सुनको अवैध कारोबारमा समेत चिनियाँहरुको संलग्नता देखिन थाल्यो ।’

अहिले आएर ह्याकिङ, मानव तस्करी तथा लागुऔषधमा समेत उनीहरूको संलग्नता देखिएको चन्दको बुझाई छ । अझै नेपाललाई आधारभूमि बनाएर उनीहरूले इन्टरनेटमार्फत समेत संगठित आर्थिक अपराध गर्दै आएको उनले आरोप लगाए ।

किन बढ्यो चिनियाँ संलग्न अपराध ?

चार बर्ष अघि अहिलेकै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले चिनियाँ पर्यटकलाई आकर्षित गर्न भन्दै चिनियाँ पर्यटकसँग भिसा शुल्क नलिने निर्णय गरेको थियो । तत्कालिन सरकारको त्यो निर्णय सँगै नेपालमा चिनियाँ पर्यटकको आगमन ह्वात्तै बढ्यो ।

प्रहरी अनुसन्धान अधिकारीहरु भन्छन्-‘जब नेपालमा आउने चिनियाँ नागरिकहरुको संख्या बढ्न थाल्यो तब अपराधका घटनामा उनिहरुको संलग्नता समेत बढि नै हुन थाल्यो ।’

प्रहरी प्रवक्ता डीआईजी सैलेश थापा क्षेत्रीका अनुसार नेपालमा आएर अपराध गर्न कुसैलाई पनि छुट छैन । चाहे त्यो चिनियाँ नागरिक होस या अरु । जसले अपराध गर्छ उ कारवाहीको भागीदार भएरै छाड्ने उनले बताए ।

अपराध रोक्न प्रहरी हरप्रहर तयार रहेको पनि थापाले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version