दोलखा: विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय जनताको नागरिकता खरिद गरी तामाकोशी आयोजनाको शेयर हत्याउने गिरोह सक्रिय रहेकोभन्दै यसमा सजग रहन स्थानीयलाई आग्रह गरेका छन् ।

“हामीले थाहा पाए अनुसार यस आयोजनाको शेयर प्राप्तिका लागि केहि शेयरका माफियाहरु स्थानीयको नागरिकता खरिद गरी शेयर आफ्नो नाममा ल्याउन सक्रिय रहेका छन् यसमा सचेत हुनुहोस,” घिसिङले भने।

जिल्लाका बासिन्दालाई छुट्याइएको १० प्रतिशत शेयर वितरणको आज चरिकोटमा शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो कुरा ब्यक्त गरेका हुन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा र पहुँच हुनेले स्रोत साधनमा लगानी गरेर नाफा बटुल्दै लैजाने र नहुनेले हेरेरै बस्ने प्रवृत्तिको अन्त्य तामाकोशी आयोजनाले गरेको बताएका छन् ।

मन्त्री पुनले विकासमा सामाजिक न्यायको अवधारणा अपरिहार्य रहेको उल्लेख गर्दै मुलुकको समृद्धिका लागि विकास र सुशासन आवश्यक रहेको बताए ।

एक लाख मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुनसक्ने नेपालमा तत्काललाई जनताकै लगानीमा तीन हजार मेगावाटका आयोजना सञ्चालन गर्ने योजना सरकारको छ भन्दै उनले सरकारले विभिन्न १६ वटा जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखेको र त्यसका लागि करिब रु छ खर्ब लगानीको अनुमान गरेको जानकारी दिए ।

मन्त्री पुनले तामाकोशी आयोजनालाई यही आर्थिक वर्षभित्रै सकाउन लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, प्रदेशसभा सदस्य पशुपति चौलागाईं र विशाल खड्का, जिसस प्रमुख डबल पाण्डेलगायतले तामाकोशी आयोजना र शेयरका विविध पक्षमाथि प्रकाश पारे ।

माथिल्लो तामाकोशी आयोजनाका लागि जिल्लाका बासिन्दाले पाउने गरी रु एक करोड पाँच लाख ९० हजार कित्ता शेयरका लागि आजदेखि आवेदन खुला गरेको छ ।

उक्त शेयरका लागि भदौ १४ गतेसम्म दोलखा जिल्लामा विभिन्न बैंकहरुको १९ वटा संकलन केन्द्र र काठमाडौँमा बस्ने दोलखावासीका लागि सनराइज बैंकको ११ वटा संकलन केन्द्र निर्धारण गरेको छ ।

‘शेयरमा सम्पूर्ण दोलखावासीको पहुँच पुगोस्’ भन्ने उद्देश्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई शेयरबारे प्रशिक्षणसमेत दिएको छ ।

कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम ३० देखि अधिकतम ३०० कित्ता खरिद गर्न पाउने गरी आवेदन दिन सक्नेछन् ।

जिल्लाका विभिन्न बैंक तथा वित्तीय संस्थाको २१ स्थानबाट शेयर आवेदन दिने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाका शाखा नभएका स्थानमा घुम्ती संकलन केन्द्र राखिने पनि जनाएको छ ।

स्थानीयलाई आउजाउ गर्न कठिनाइ हुने दुुर्गम स्थानमा स्वयंसेवक परिचालन गरी आवेदन संकलन गरिने कम्पनीले जनाएको छ । जिल्लाका बासिन्दालाई शेयर आवेदन भर्न ‘डिम्याट’ खाता अनिवार्य गरिएको छैन ।

तीन वर्षको लकिङ अवधि पूरा भएपछि भने लगानीकर्ताले अनिवार्यरुपमा डिम्याट खाता खोल्नुपर्नेछ । वैदेशिक रोजगारीमा गएका दोलखावासीको हकमा वेबसाइटबाट फारम डाउनलोड गरी हस्ताक्षर गरेर पठाएमा उनीहरुका परिवारका सदस्यले आवेदन बुुझाउन मिल्ने व्यवस्थासमेत गरिएको छ ।

आयोजनाले अति प्रभावित, कम प्रभावित र प्रभावितको सूची पनि तयार गरेको छ । अति प्रभावितमा (साविक लामाबगर र गौरीशंकर गाविस) स्थानीयले हरियो रंगको आवेदन फारम भर्नुपर्नेछ । सडक र प्रसारण लाइनले छोएको क्षेत्रका प्रभावित स्थानीयले नीलो रंगको आवेदन फारम भर्नुपर्नेछ । कम प्रभावितका लागि कालो रंगको आवेदन फारम तयार गरिएको कम्पनीले जनाएको छ ।

शेयर निष्काशन तथा बाँडफाँट गर्न नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको पनि कम्पनीले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version