काठमाडौं : हरेक वर्ष लाग्ने माधवनारायण मेला तथा श्री स्वस्थानी ब्रत मेलाको एक महिनाको समयावधिमा साँख्का व्यापारीले राम्रो आम्दानी गर्ने गरेका छन ।
मेला भर्न आउने भक्तजनलाई खुवाएर होस वा टिका फूल प्रसाद वेचेर होस, प्रत्येक दिन उनीहरुले कम्तीमा ५ हजारदेखि बढीमा १५ देखि २० हजारको व्यापार गर्ने गरेका छन ।

एघार महिना सुनसान हुने साँखुस्थित शाली नदी वरपरका स्थानहरु मेलाअवधिभर पुरै भरिभराउ हुने गरेको छ । व्यबसायीहरुको लागियो एक महिना मनग्य आम्दानी गर्ने सुनौलो अवसर सावित हुँदै आएको छ ।
व्यवसायीबाट साँखुको मेलामा दर्शनार्थीहरु ठगिएको भन्ने गुनासा आएपछि गाडी भाडा, खाजा खाना लगायतमा श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिले सुरुवाती चरणबाट नै व्यवस्थित व्यापार नीति लिएको छ ।
समितिले होटेल व्यबसायीहरुका लागि खाजा नास्ताको मूल्यसुची नै तोकेर टाँसेको पाइएको छ ।
त्यस्तै गाडी भाडामा नठगिउन भनि हरेक साँखु रुटमा चल्ने सवारीसाधनमा भाडादरको सुची टाँसीदिएको स्थानीय गाडी सञ्चालक बताउँछन ।
मेला अवधिका लागि होटेल व्यबसाय गर्दै आएका ३६ वर्षीय सिरिष थापाका अनुसार समितिले मूल्यसुची अनुसार नै व्यापार गरिरहेको बताए ।
उनले करिब ५ महिना अगाडिदेखि नै स्टल बुकिङ्ग गरेको सुनाए । एक महिना मात्रैको पनि भाडा १ लाख ५८ हजार रुपैयाँ तिरेका उनले दैनिक १६ देखि २० हजार सम्म व्यापार गर्दै आएका छन ।
उनको होटलमा ६ जना कर्मचारी कार्यरत छन् कोहि ग्राहक बोलाउने गर्छन त कोहि पकाउने देखि लिएर जुठो मोल्ने सम्मका छन । उनको पसलका प्रत्येक कर्मचारीलाई अहिले भ्याइनभ्याइ छ ।
त्यस्तै मेला अवधिका लागि मन्दिर परिसरमा पूजा सामग्री बेच्न बसेका २७ वर्षीय प्रज्वल मन सिं दैनिक ६ हजार रुपैयाँ आम्दानी भैरहेको बताउछन ।
पूजाको सामान बेच्न दुइओटा ठेला राख्ने स्थानको लागि उनले मासिक ५० हजार रुपैयाँ तिर्ने सम्झौता गरेका छन ।
गतवर्षको मेला सकिए लगत्तै उनले त्यो ठाउँ बुकिङ्ग गरेको सुनाए । पेशाले उनि स्थानीय शिक्षक पनि हुन् मेला अवधिमा विद्यालय बन्द हुने भएकाले उनले यो समयमा व्यापारबाट मनग्य कमाउने सोचे र ठेलाबाटै दैनिक हजारौ उठाउन थाले ।
दैनिक रूपमा शालिनदीमा भजन मण्डली संचालन गर्दै आएका उमेश मान सिंका अनुसार आगामी सालमा व्यापार गर्न चाहनेले मेला सकिएको दिनदेखि नै स्टलको प्रि बुकिङ्ग गर्नुपर्छ । उनका अनुसार स्थान र क्षेत्रफ़ल हेरेर स्टलको भाडा फरक पर्ने बताए ।
मेला अवधिभरका लागि अहिले समितिले प्रत्येक स्टलको कम्तीमा २० हजार देखि ४ लाख सम्म भाडा उठाएको पाइएको छ ।