काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका नेता हरिदेव गिरीको काठमाडौँमा शंकास्पद अवस्थामा गएराती मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीका अनुसार नयाँबानेश्वरको आलोकनगरस्थित ‘डि क्याफे एण्ड किचन रेष्टुरेन्ट’ मा गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि लगिएको थियो ।

काठमाडौँ प्रहरी परिसरका प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीका अनुसार मंगलबार राति १० बजेतिर सिभिल अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेको हो। उनले भने- हामीले प्रारम्भिक अनुसन्धानका लागि रेस्टुरेन्ट संचालकसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं।

‘घटना भएको बेलामा उपस्थित होटल सञ्चालक र कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौं’, बोगटीले भने, ‘बानेश्वर वृत्तमा राखेर उनीहरुमाथि अनुसन्धान जारी छ ।’

उनका अनुसार गिरीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको छ । प्रारम्भिक अनुसन्धानमा उनको टाउको, घाँटी र तीघ्रामा चोट देखिएको छ भने खुट्टाको हड्डी पनि भाँच्चिएको देखिएको बोगटीको भनाइ छ ।

गिरी निकटस्थका अनुसार उनी मंगलबार बिहान ९ बजेदेखि नै उक्त होटलमा बसेका थिए । दिनभर मदिरा सेवन गरेका कारण उनी राति घर फर्किन सक्ने अवस्थामा पनि नरहेको उनी निकट स्रोतले बतायो ।

गिरि दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, रेन्बो स्कुलका संस्थापक तथा प्याब्सन भक्तपुरको सल्लाहकारसमेत थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version