बनेपा: यहाँ हुने हरेक जात्रामा बाजा बजाउँदै आएका कुसुले समुदायका युवाले बाजा बजाउन छोडेपछि जात्रा आउने बित्तिकै मान्छे खोज्नुपर्ने अवस्था आएको छ । पनौती जात्रामा बाजागाजासहित नगर परिक्रमा गर्नु यहाँको जात्राको विशेषता हो ।

 

यहाँ लाग्ने जात्रामा बाजा बजाउने मान्छे नहुँदा श्रीखण्डपुर, नाला र साँगाबाट भाडामा ल्याएर समस्या टार्नुपरेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष राजेन्द्र महाजुले बताए । “नेवार समुदाको कुसुले थरका मान्छेले मात्रै बजाउने गरेको पनौती जात्राको बाजा बजाउने मान्छेको अभाव भएपछि बाहिरबाट ल्याउनुपरेको छ”, उनले भने, “बाजा बजाउनेलाई प्रोत्साहन नभएर युवाले बाजा बजाउन छोडेको पाँच वर्षजति भयो ।” जात्रामा दमाह बाजा कुसुलेले मात्रै बजाउनुपर्ने परम्परा छ ।

 

पनौतीमा नै भएकाले बजाउन छोडेपछि पछिल्लो समयमा जात्रा हुने बेलामा साँगा, श्रीखण्डपुरलगायत ठाउँबाट पैसा तिरेर मान्छे ल्याउने गरिएको छ । वडा नं ७ को स्थायी बासिन्दा रहेको ती समुदायका नयाँपुस्ताले सो पेशालाई छोड्दै गएका छन् । पुरानो मान्छे नरहनु र नयाँ पुस्ताले सीप सिक्न छोडेका कारण बाजा बजाउने मान्छेको अभाव भएको महाजुको भनाइ थियो ।

 

पनौती वडा नं ७ का वडा सदस्य एवं समाजसेवी पुरुषोत्तम कर्माचार्यले जात्रामा बाजा बजाउने मान्छे नहुँदा चुनौती थपिएको बताए । वर्षमा करिब ८÷१० वटा जात्रा हुने बजारमा बाजा बजाउने मान्छे नहुँदा बाहिरबाट ल्याउनुपर्ने भएकाले निकै चुनौती थपिएको उनको भनाइ थियो । “परापूर्वकालदेखि जुन मान्छेले धान्दै आएको थियो, एउटै मात्र जातित्वले गर्नुपर्ने भनेर जिम्मा दिँदै आएको मान्छेले गर्न छोडेपछि इतिहास नै हराउने अवस्थामा पुगेको छ”, उनले भने, “अहिले पनौतीबाट नैकिन बाजा र कुसुले बाजा लोप हुने अवस्थामा पुगेको छ ।”

 

त्यससँगै पछिल्लो समयमा प्रजापति बाजाको संरक्षण गर्नुपर्ने अवस्था सिर्जना भइसकेको कर्माचार्यले बताए । त्यसका लागि नगरपालिकाबाट नै बजेट छुट्याएर धिमेबाजा लगायतको संरक्षणका लागि कार्यक्रम सञ्चालन गरेपछि युवाको उत्साहपूर्ण सहभागिताले बाजा बजाउने नयाँ पुस्ता उत्पादन भइसकेको उल्लेख गर्दै उनले हिनताबोध भएर पेशा छाडेका कारण पनि सीप र बाजाको लोप हुँदै गएको बताए ।

 

पहिलादेखि नै धान्दै आएको पेशालाई निरन्तरता दिँदा आफैँ माथि आउनसक्ने आत्मविश्वासमा कमी भएकाले मान्छे नपाउने अवस्थामा पुगेको उनको भनाइ थियो । कुसुलेले आफ्नो बाजा नबजाउने र शाहीले नैकिन बाजा नबजाउने हो भने आफ्नै संस्कृति र पहिचान लोप हुने भएकाले अब युवाले त्यसतर्फ सोच्न आवश्यक रहेको कर्माचार्यले बताए ।

 

पनौतीमा हुने विभिन्न जात्रामध्ये जेठ पूर्णी, सङ्कटा जात्रा, काठुगणेश, मानेश्वरी जात्रा, भद्रकाली, योमरी पुन्ही, गणेश ब्रह्मायणी, कृष्ण लगायतको जात्रामा ती समुदायका मानिसले बाजा बजाएर नगर परिक्रमा गरी आकर्षक बनाउने काम गर्दै आएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version