काठमाडौँ: अर्थ मन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्र र अन्तर्राष्ट्रिय व्यापारिक-औद्योगिक समुदायबीचमा भएको समझदारीबाट देशमा थप लगानी आउनेमा उनी विश्वस्त रहेको बताएका छन् ।
नेपाल उद्योग परिसंघ प्रवुद्ध परिषद (थिङ्कट्याङ्क) का संयोजक शम्भुराम सिंखडाद्वारा लिखित “नेपाल, भारत, चीनः २१औँ सताब्दीमा सम्बन्ध विस्तार” विषयक अग्रेजी पुस्तकको विमोचन गर्दै अर्थ मन्त्री डा. खतिवडाले सो कुरा बताएका हुन् । उनले भने मुलुकले अङ्गीकार गरेको तीव्र र दिगो विकासको लक्ष्य हाँसिल गर्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहयोग, सद्भावले समृद्धिको मार्गमा नेपाललाई थप ऊर्जा प्रदान गर्ने छ ।
सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र पीएच्डी चेम्बर अफ कमर्शका अध्यक्ष अनिल खेतानले नेपालमा र भारतमा दुबै चेम्बरमा भारत नेपाल सेन्टरको स्थापना गर्ने कुरामा सहमति भएको बताए ।
सोको स्टेरिङ्ग कमिटिमा पीएच्डी चेम्बरका तर्फबाट पूर्वराजदूत के.भी. राजन तथा नेपालका तर्फबाट परिसंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय समितिका संयोजक निर्वाण चौधरीले नेतृत्व गर्ने तय भएको छ ।
सो समितिको उद्देश्यहरुमाः पूर्वाधार, जलस्रोत, साना तथा घरेलु उद्योग, रेल्वे, पर्यटन, कृषि आदिमा दुइ मुलुकबीच आर्थिक सदृढिकरण गर्ने उल्लेख छ ।
परिसंघका अध्यक्ष शर्माले नेपालमा धेरै पूराना ऐनहरुको संशोधन आवश्यक भएको र मुलुकमा स्थायित्व भइसकेको हुँदा आर्थिक वृद्धि हुने आशा ब्यक्त गरे ।
लगानी अभिवृद्धि गर्न कर्णाली प्रदेशमा दश वर्षको आयकर छुटको व्यवस्था सह्राहनिय रहेको बताउँदै संघीय प्रणाली अन्तर्गत प्रदेश र स्थानीय निकाय बलियो हुँदै गएमा यसबाट समृद्धिको फल प्राप्त हुने अपेक्षा रहेको बताए ।
मुलुकमा हाल रहेको १५ प्रतिशत घरेलु बचत र ४५ प्रतिशत लगानी आवश्यकताको खाडल पूर्ति गर्न पनि हाम्रा नीति र विदेशीलाई लगानी गर्न आमूल परिवर्तनको खाँचो रहेको शर्माले बताए ।
नेपालका पूर्व राजदूत तथा पीएच्डी चेम्बर अफ कमर्शका स्टेरिङ्ग कमिटिका संयोजक के.भी. राजनलेदुई मुलुक बीच आर्थिक सम्बन्ध सुदृढको अपार सम्भावनालाई प्रयोग गरी त्यसको प्रतिफल जनतासम्म पु¥याउने आजको वास्तविकता रहेको बताए ।
सो अवसरमा नेपालका लागि भारतीय राजदूत तथा कार्यक्रमका विशेष अतिथि मञ्जीव सिंह पूरीले दुई मुलुकबीच खास गरी प्रधानमन्त्री के पी शर्मा ओलीको गत वर्षको भारत भ्रमण पश्चात विभिन्न क्षेत्रहरुमा क्रमिक कार्यान्वयनको कार्य भइरहेको र पर्यटन, कनेक्टीभिटी, विद्युत प्रसारणमा आशातीत उपलब्धी हाँसिल गर्न दुबै मुलुक प्रयत्नशील रहेको बताउँदै नेपालको विकास प्रयासमा भारत सदा साथ रहने र हालै दुई व्यापारिक÷औद्योगिक प्रतिनिधिमूलक संस्थाबीच सम्पन्न भएको समझदारी पत्रको माध्यमबाट ठोस परिणाम आउने अपेक्षा ब्यक्त गरे ।
