बागलुङ: वर्षौंपछि काठेखोला गाउँपालिका–३ धम्जा, देउरालीको माहोल खेल र सङ्गीतमय बन्यो । गाउँलेले कुनै ताका देउरालीमा लाग्ने पुरानो शिवरात्रि र तीज मेलाको झल्को मेटे । माघे ठिहीकोसमेत प्रवाह नगरी कार्यक्रममा रमाए, झुमे ।
यही साता चलेको ‘प्रथम अध्यक्षकप भलिबल एवं साङ्गीतिक प्रतियोगिता’ले देउरालीलाई फेरि पुरानै चिनारीमा फर्कायो । देउराली पहिले व्यापारिक केन्द्र थियो । छिमेकी गाउँबाट घण्टौँ हिँडेर मानिस किनमेल गर्न आउँथे । बटुवा, लाहुरे बास बस्थे । समय बित्दै गयो । सडक आयो । नयाँ ठाउँमा बजार बसे ।
देउरालीको चहलपहल घट्यो । व्यापार सुस्तायो । त्यहाँ लाग्ने मेला, जात्रा पनि विस्तारै हटे । यसरी पहिचान गुम्दै गएका बेला कला र खेल गतिविधि समेटिएको कार्यक्रमले १५ वर्षपछि पुनः देउरालीमा रौनक ल्यायो । चार दिनसम्म स्थानीयवासीले खेलको आनन्द लिए । व्यापार गरे । कार्यक्रम हेर्न टाढाका गाउँबाट समेत दर्शक आए ।
खेल, कला र संस्कृति प्रवद्र्धन एवं प्रतिभा पहिचानको उद्देश्यसहित गाउँपालिकाले ‘प्रथम अध्यक्षकप भलिबल एवं साङ्गीतिक प्रतियोगिता’को आयोजना गरेको हो । कार्यक्रममा भलिबल, काठेखोला लोकतारा, काठेखोला गजलतारा, दौड, नृत्य, वक्तृत्वकला, छेलो, सोरठी नाचलगायतका प्रतियोगिता भए ।
अध्यक्ष कप भलिबलको उपाधि वडा नं ७ रेशले हात पा¥यो । वडा नं ९ लेखानी उपविजेता बन्न सफल भयो । दुवैले क्रमशः रु एक लाख ३२ हजार र ८० हजार पुरस्कार प्राप्त गरे । भलिबलमा गाउँपालिकाका सबै वडाले सहभागिता जनाएका थिए । यस्तै लोकगायन प्रतियोगिता ‘काठेखोला लोकतारा’को उपाधि वडा नं ५ का समित परियारले जित्नुभयो । ४२ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनी पहिलो ‘काठेखोला लोकतारा’ बन्न सफल भएको हो ।
उपाधिसँगै परियारले नगद रु ३० हजार प्राप्त गरे । प्रतियोगितामा सोही वडाकी शान्ता सुनारले उपविजेता बन्दै नगद रु २० हजार र वडा नं ५ का गङ्गाबहादुर सुनारले तेस्रो स्थान हासिल गरी नगद रु १० हजार प्राप्त गर्नुभयो । कूल ४३ प्रतियोगीमध्ये दोस्रो चरणमा उत्कृष्ट सात छनोट भएका थिए ।
सात जनाबीच भएको अन्तिम स्पर्धाबाट विजेता छानिएको कार्यक्रम संयोजक टीका सङ्गम विकले जानकारी दिए । ‘काठेखोला गजलतारा’को उपाधि वडा नं ४ तङ्ग्रामका गजलगो प्रतिमान थापाले हात पारे । उनले नगद रु १० हजार प्राप्त गरे । गजल प्रतियोगितामा द्वितीय हुन सफल वडा नं ७ रेशका प्रेम मगरले रु सात हजार र तृतीय हुनुभएका वडा नं ३ धम्जाका रञ्जीत भण्डारीले नगद रु पाँच हजार प्राप्त गरे ।
माविस्तरीय वक्तृत्वकला प्रतियोगितामा वडा नं ५ अमर माविका प्रकाश सुवेदी प्रथम, वडा नं ६ भीमसेन माविका सविना कार्की द्वितीय र वडा नं २ स्थित जनकल्याण माविका समीक्षा बोहोरा तृतीय हुनुभएको थियो । उनीहरुले क्रमशः रु १०, सात र पाँच हजार पुरस्कार प्राप्त गरे । छेलो, दौडलगायतका प्रतियोगिताका विजेताले पनि आकर्षक नगद पुरस्कार पाए ।
गाउँपालिकाले अध्यक्ष कप भलिबलसँगै साङ्गीतिक प्रतियोगताका लागि चालु आर्थिक वर्षमा रु १५ लाख बजेट छुट्टाएको थियो । “खेलको विकाससँगै खेलाडी उत्पादन गर्नु हाम्रो लक्ष्य हो”, गाउँपालिका अध्यक्ष अमर थापाले भने, “गाउँमा लुकेर रहेका प्रतिभाको पहिचान गर्न कार्यक्रम सफल भएको छ ।”
उनका अनुसार ‘अध्यक्ष कप भलिबल र साङ्गीतिक प्रतियोगिता’ले आगामी वर्षमा पनि निरन्तरता पाउनेछ । सोही अवसरमा चर्चित गायक प्रकाश सपूतलाई पनि सम्मान गरिएको थियो । सपूतको घर सोही गाउँमा पर्छ । मौलिक लोकसङ्गीतको उत्थानमा योगदान पु¥याएको भन्दै गाउँपालिकाले नगद रु १५ हजारसहित सम्मान गरेको हो ।
