काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विरोध गर्दै संसद बैठक अवरुद्ध गरेको छ ।

कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि रोकिएको प्रतिनिधिसभाको बैठक २ दिनका लागि स्थगित भएको छ ।

शुक्रबार दिउँसो १ः२० बजेतिर शुरु भएको प्रतिनिधिसभा बैठकको शुरुमै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।

कांग्रेसको अवरोध जारी गरेपछि सभामुख अग्नि सापकोटाले आधा घण्टाका लागि स्थगित गरेका थिए । सभामुख सापकोटाले दिउँसो २ः१० बजे पुनः बस्ने गरी बैठक स्थगित गरेपनि बैठक शुरु हुन सकेन ।

संघीय संसद सचिवालयले अब अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जनाएको छ ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा आफ्ना नेता विजयकुमार गच्छदारलाई प्रतिवादी बनाइएको विरोधमा कांग्रेसले सदन अवरोध गर्दै आएको छ ।

संसदमा कांग्रेसले अख्तियारले सरकार पक्षका लागि बोक्ने, विरोधीलाई ठोक्ने गर्न मिल्छ ? भनेर प्रश्न गरेको छ।

गच्छदारलाई प्रतिवादी बनाइएको विरोधमा कांग्रेसले बिहीबार पनि संसद बैठक अवरुद्ध पारेको थियो ।

हिजो बिहीबार कांग्रेसको अवरोधका कारण स्थगित भएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version