सुरुङ्गा: सिङ्गो नगरलाई नै विषादी मुक्त बनाउने अभियान बिर्तामोड नगरपालिकाले शुरु गरेसँगै यहाँका कृषक प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका छन् । अहिले नगरपालिकाको सहयोगमा ‘एक समूह, एक उत्पादन’ कार्यक्रमअन्तर्गत विभिन्न ठाउँमा व्यावसायिक रुपमा सामूहिक खेती शुरु गरिएको छ ।

 

तोरी, आलु, फापर, राजमा र सूर्यमुखी फूलको खेती कृषकले अहिले व्यावसायिक रुपमा गरिरहेका छन् । उनीहरुले गरेको सामूहिक खेती पूर्णरुपमा प्राङ्गारिक भएको नगरपालिकाका कृषि शाखाप्रमुख राजेन्द्र कडरियाले बताए । उनले भने, “व्यावसायिक रुपमा सामूहिक खेती गर्दा थोरै लागतमा पनि धेरै उत्पादन गर्न सकिने अपेक्षा छ ।”

 

अहिले बिर्तामोडका हाम्रो कृषक र बद्रीवाडी कृषक समूहले पाँच÷पाँच बिगाह क्षेत्रफलमा सामूहिक आलु खेती गरेका छन् । हाम्रो कृषक समूह वडा नं ७ र बद्रीवाडी कृषक समूह वडा नं ९ मा सामूहिक आलु खेती गरिरहेका छन् । दुईवटै समूहले नगरले आलुको बीउ अनुदानसँगै खेतीका लागि प्रतिबिगाह रु एक हजार ५०० सहयोग प्रदान गरेपछि सामूहिक र प्राङ्गारिक खेतीमा कृषक जुटेका हुन् ।

 

हाम्रो कृषक समूहका अध्यक्ष प्रदीप खनालका अनुसार पाँच बिगाह क्षेत्रफलमा करीब तीन टन आलु रोपिएको छ जसमा चार बिगाह क्षेत्रफलमा नेपाल सरकारले सिफारिस गरेको कार्डिनल अढाई टन र एक बिगाह क्षेत्रफलमा स्थानीय लालगुलाब प्रजातिको आलु रोपिएको छ । कृषक समूहमा रहेकामध्ये १२ जनाले सामूहिक आलु खेती गरेका खनालको भनाइ छ ।

 

नगरपालिकाले रु दुई लाख २५ हजार आलु खेतीका लागि अनुदान दिएपछि आलु खेती शुरु गरिएको जानकारी दिँदै उनले भने, “प्रतिकट्ठा १५ मन मात्रै आलु फल्यो भने पनि यो वर्ष हामीले एक हजार ५०० मन आलु उत्पादन गर्छाैं ।” यो वर्ष आलु खेतीबाट मात्रै हाम्रो कृषक समूहले रु चार लाख ५० हजार आम्दानी गर्ने अध्यक्ष खनाले बताए ।

 

उनले भने, “हाम्रो लक्ष्य उत्पादन गरिएको आलुलाई बीउका रुपमा बिक्री गर्ने हो यसो गर्दा दोब्बर नाफा हुन्छ ।” नगरपालिकाको सहयोगमा अहिले ‘एक गाउँ, एक बाली’ कार्यक्रमअन्तर्गत दुई समूहले १० बिगाह क्षेत्रफलमा आलुसहित पाँच समूहले ९८ बिगाह क्षेत्रफलमा सामूहिक तोरी खेती, २० बिगाह क्षेत्रफलमा राजमा खेती, एउटा समूहले २२ बिगाह क्षेत्रफलमा फापर र दुई समूहले ३० बिगाह क्षेत्रफलमा सामूहिक सूर्यमुखी फूलको खेती गरिरहेका कृषि शाखा प्रमुख कडरियाले बताए ।

 

बिर्तामोडका अधिकांश कृषकले अहिले प्राङ्गारिक खेती गरिरहेका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । वडा नं ७ निवासी होमनाथ घिमिरे रेखानगर कृषक समूहका अध्यक्ष छन् । उनकै अगुवाइमा अहिले समूहभित्र सामूहिक तोरी खेती शुरु गरिएको छ । समूहमा प्राङ्गारिक खेती शुरु गरिएसँगै समूहमा आबद्ध सबै कृषकले आ–आफ्नो बारीमा तरकारी खेती गरिरहेका घिमिरेले बताए ।

 

वडा नं ९ मा २२ बिगाह क्षेत्रफलमा लगाइएको फापर अहिले ढकमक्क फूलेको छ । फुलेको फापरका कारण त्यस ठाउँको वातावरण सुन्दर छ भने बाटो हिँड्ने जो कोही फुलेको फापरमा केही बेर रमाउने गरेका जनसेवा कृषक समूहका अध्यक्ष कर्णबहादुर मगर बताउछन् ।

 

नगरपालिकाले ‘एक समूह, एक उत्पादन’ कार्यक्रमका लागि यो वर्ष रु १९ लाख कृषकलाई अनुदान रकम प्रदान गरेको र सामूहिक खेतीबाट कृषकले झण्डै रु दुई करोड ५० लाख आम्दानी गर्न सक्ने अपेक्षा गरिएको छ । तोरीबाट मात्रै कृषकले रु एक करोड आम्दानी गर्ने कृषि शाखाप्रमुख कडरियाले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version