दार्चुला: बैतडीको डिनासैनी गाउँपालिकाको एम्बुलेन्सबाट चित्तल तस्करी हुने गरेको आशंका गरिएको छ ।

 

मृत अवस्थामा चित्तलसहित एम्बुलेन्स चालक महेश बोहरा पक्राउ परेसँगै एम्बुलेन्सबाट चित्तल तस्करी गर्ने प्रयास भइरहेको हुनसक्ने शंका प्रहरीको छ । यद्यपि, यो पहिलो प्रयास हो या यसअघि पनि ओसारपसार हुने गरेको थियो भन्ने खुलेको छैन ।

 

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख दिपेन्द्र शाहीले सुदूरपश्चिम प्रदेश ०१-००१ झ ३४६ नम्बरको एम्बुलेन्सलाई शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट नियन्त्रणमा लिइएको बताए । ‘मृत अवस्थाको चित्तलसहित चालकलाई इलाका प्रहरी कार्यालय, गोकुलेश्वरले नियन्त्रणमा लिएको छ’, प्रहरी नायब उपरीक्षक (डीएसपी) शाहीले भने, ‘वनमा बुझाउने तयारी भइरहेको छ ।’

 

गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउँदका अनुसार पक्राउ परेका व्यक्ति, चित्तल र एम्बुलेन्सलाई इलाका वन कार्यालय, गोकुलेश्वरमा बुझाउने तयारी भइरहेको छ ।

 

नियन्त्रणमा लिइएको सवारीसाधन सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको अत्याधुनिक एम्बुलेन्स भएको अधिकारीहरुले बताएका छन् ।

 

डिनासैनी गाउँपालिकाका अध्यक्ष उकेन्द्रबहादुर बाहेराले एम्बुलेन्ससहित चालक नियन्त्रणमा परेको खबर आफूलाई पनि आएको बताए । ‘म अहिले धनगढीमा छु, के भएको रहेछ भनेर बुझ्ने प्रयास गरिरहेको छु’, उनले भने ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version