काठमाडौँ: ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालको बालाजुस्थित घरमा बम विस्फोट गराउने चन्द समूहका नेतासहित ७ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थायी ठेगाना गोर्खा भएका कपिल भट्ट रहेको प्रहरीले जानकारी दिएको छ। भट्ट गण्डकी ब्यूरो सदस्य रहेको प्रहरीले बताएको छ। पक्राउ परेका अन्य ६ जनामा दैलेख घर भइ हाल नैकाप बस्ने भीम अधिकारी, पोखरा घर भइ हाल नैकाप नै बस्ने विष्णुप्रसाद अधिकारी, रामेछाप घर भइ हाल नैकाप नै बस्ने हरीचन्द्र खड्का, गोकर्णेश्वर घर भइ हाल पुरानो ठिमी बस्ने दिनेश नगरकोटी, गोरखा घर भइ भैंसेपाटी बस्ने विकाश थापा, सिन्धुपाल्चोक घर भइ हाल भैसेपाटी बस्ने राजकुमार मगर रहेका छन् ।

महाशाखाको टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको हो। उनीहरूबारे महानगरीय प्रहरी परिसरबाट समेत थप अनुसन्धान भइरहेको जनाइएको छ ।

माघ १ गते बेलुका ढकालको घरको गेटमा बम विस्फोट गराइएको थियो । विस्फोटबाट पार्किङ गरेको कार र गेटमा क्षति पुगेको थियो। कुनै मानवीय क्षति भने भएको थिएन।

यस्तै सोही दिन बेलुका बालुवाटारस्थित ललिता निवास परिसरमा समेत बम फेला परेको थियो । उक्त बमलाई सेनाको टोलीले डिस्पोज गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version