वीरगञ्ज: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले चालु आर्थिक वर्षमा प्राप्त गरेको जिरा मसिनो धान खरिदको कोटाको लक्ष्य पूरा गर्न सकेको छैन ।

 

शाखाले चालु आर्थिक वर्षका लागि पाँच हजार क्विन्टल जिरा मसिनो धान खरिदको कोटा पाएको थियो । तर अहिलेसम्म ३२ क्विन्टल २६ केजी मात्र खरिद गर्न सकिएको कम्पनीको वीरगञ्ज शाखा कार्यालयले जनाएको छ । नेपालभन्दा भारतमा बढी उत्पादन हुने जिरा मसिनो धान भारतबाट आउन नसकेकाले तोकिएको लक्ष्य प्राप्ति हुन नसकेको हो । शाखा प्रमुख नरनाथ अधिकारीले भने, “यो धान नेपालमा नगन्य मात्रामा मात्र लगाउने गरेको र उत्पादन पनि थोरै हुने गरेकाले किसानले यो धान लगाउन छाडिसकेको भए पनि भारतबाट नआएकाले सरकारले दिएको कोटाअनुसार धान खरिद हुन नसकेको हो ।”

 

यस वर्ष धान खरिद गर्न पाँच हजार क्विन्टल थप कोटासहित सोना मन्सुली धान १५ हजार क्विन्टल तथा जिरा मसिनो धान पाँच हजार क्विन्टल गरी जम्मा २० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य सो कार्यालयले पाएकोमा पाँच करोड ३४ लाख ६१ हजार २२१ रुपैयाँ ८६ पैसा मूल्य बराबरको १९ हजार ९९९ क्विन्टल २६ केजी सोना मन्सुली तथा रु ९७ हजार ३९५ मूल्य बराबरको ३२ क्विन्टल २६ केजी जिरा मसिनो धान खरिद गर्न सकिएको सो कार्यालयका वरिष्ठ सहायक मुनिलाल कुशवाहाले बताए ।

 

अघिल्लो आर्थिक वर्षमा सो कार्यालयले छ करोड चार लाख ९९ हजार ५१० रुपैयाँ ९३ पैसा मूल्य बराबरको २४ हजार ५८७ क्विन्टल ६० केजी सोना मन्सुली धान खरिद गरेको थियो । गत आवमा कार्यालयले सोना मन्सुली धान मात्र खरिद गर्ने कोटा पाएकोमा यस वर्षदेखि जिरा मसिनो धान खरिद गर्ने कोटासमेत पाएको छ ।

 

“सोना मन्सुली धानको हकमा प्राप्त कोटाबमोजिम धान खरिदको लक्ष्य पूरा भएको छ, अहिलेलाई धान खरिद स्थगन गरिएको छ,’ उहाँले भन्नुभयो”, ‘जिरा मसिनो धान भने ३२ क्विन्टल २५ किलो मात्र खरिद गरेका छौं, यसको खरिदको कोटा ५ हजार क्विन्टल थियो ।” यस वर्ष मङसिर पहिलो साताबाटै शाखाले धान किन्न सुरु गरेको हो । जिरा मसिनो धानको खरिद मूल्य प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय खरिद समितिले निर्धारण गरेको हो । सोना मन्सुलीको मूल्य भने मन्त्रिपरिषद्ले निर्धारण गरेको हो । गत आवमा कार्यालयले सोना मन्सुली धान मात्र खरिद गरेको थियो । यस वर्ष केन्द्रबाटै दुवै धान खरिदको कोटासहित निर्देशन आएको थियो ।

 

कार्यालयले यही माघ १० गते एक सूचना प्रकाशित गरी एकाएक धान खरिद गर्न बन्द गरेकाले किसान बाध्य भएर सस्तो दरमा व्यापारीलाई धान बेच्न बाध्य भएका छन् । कार्यालयले यस वर्ष सोना मन्सुली धान प्रतिक्विन्टल दुई हजार ६७३ रुपैयाँ १६ पैसामा खरिद गर्दै आइरहेकोमा कार्यालयले धान खरिद गर्न बन्द गरेपछि किसान बाध्य भएर निजीगल्ला व्यापारीलाई सोना मन्सुली धान प्रतिक्विन्टल दुई हजार ५०० देखि दुई हजार ६०० मा बेच्न बाध्य भएको रामगढवाका किसान विजय पण्डितको गुनासो छ ।

 

किसानको मागलाई ध्यानमा राखी कार्यालयले थप १० हजार देखि १५ हजार क्विन्टल धान पुनः खरिद गर्नका लागि स्वीकृति दिन विभागलाई पत्राचार गरेको जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version