काठमाडौँ: गत आर्थिक वर्षमा कुल पूँजीगत बजेटको खर्च पाँच वर्षकै उच्च भएको छ । आर्थिक वर्षको अन्तिम एक महिनामा विकासका कामले तिब्रता पाउँदा पूँजीगत बजेटको ७९ दशमलब ७४ प्रतिशत बजेट खर्च भएको छ ।
गत आर्थिक वर्षको कुल पूँजीगत खर्च बिनियोजनको ३ खर्ब ३५ अर्ब १७ करोड मध्ये २ खर्ब ६७ अर्ब २० करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०६९/७० मा पूँजीगत खर्च ७८ दशमलब ३७ प्रतिशत भएको थियो भने २०७०/७१ मा घटेर ७६.०९ प्रतिशत र २०७१/७२ मा ५९.०१ प्रतिशत भएको थियो ।
त्यसैगरी, आर्थिक वर्ष २०७३ /७३ मा आर्थिक वर्ष २०७२ /७३ को तुलनामा केहि बढेर ६६ दशमलब ९२ प्रतिशत पुगेको थियो । पुँजीगत खर्च हालसम्मकै उच्च आर्थिक वर्ष २०६८/६९ मा ८२ दशमलब ५६ प्रतिशत पुगेको थियो ।
गत आर्थिक वर्षको अन्तिम महिनाको १५ दिनमा पूँजीगत खर्च उलेख्य रुपमा बढेर ६० प्रतिशतबाट ७९ दशमलब ७४ प्रतिशत पुगेको छ ।
असार २३ गते कुल पुँजीगत बजेटको ५७ प्रतिशत ( एक खर्व ९२ अर्व) बजेट खर्च भएकोमा असार ३० गते ६७ दशमलव ८८ प्रतिशत पुगेको छ ।
गत आवको पहिलो आठ महिनामा पूँजीगत खर्च ३० प्रतिशतमा सिमित थियो । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरण अनुसार गत आवको अन्तिम दिन आसर ३२ गते १२ अर्ब खर्च भएको छ ।
गत आवमा कुल बजेट निकाशाको ८३ दशमलब ८६ प्रतिशत खर्च भएको छ । कुल बजेट बिनियोजनको १० खर्ब ७३ अर्ब खर्च भएको छ । सरकारले १२ खर्ब ७९ अर्ब बजेट बिनियोजन गरेको थियो ।
यता चालू खर्च भने ८६ दशमलब ६५ प्रतिशत भएको छ । चालू खर्च तर्फको बजेट बिनियोजनको ६ खर्ब ९६ अर्ब खर्च भएको छ । सरकारले गत वर्ष चालू खर्च तर्फ ८ खर्ब ३५ अर्ब बिनियोजन गरेको थियो ।
सरकारले गत आवमा लक्ष्य अनुरुप राजस्व संकलन गएको छ । गत आर्थिक वर्ष लक्ष्यको १०० दशमलब १८ प्रतिशत राजस्व संकलन गएको छ । सरकारको ७ खर्ब ३० अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ७ खर्ब ३१ अर्ब राजस्व संकलन गरेको छ ।
यसरी अन्तिम महिनाको केहि हप्त्तामा अस्वभाविक रुपमा पूँजीगत खर्च बढेकोप्रति अर्थशास्त्रीहरूले आलोचना गरेका छन् ।
उनीहरुले भने- ‘पूँजीगत खर्च बढेर लगभग ८० प्रतिशत पुग्नु राम्रो हो तर यसरी अन्तिम समयमा लापरबाही रुपमा खर्च बढाई खर्चको लागि खर्च देखाउनु राम्रो होइन’ ।
अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले यसरी अन्तिम समयमा अस्वभाविक रुपमा खर्च गर्नु सरकारको बजेट खर्च गर्ने प्रणाली तथा मुल्यमान्यताको उलंघन भएको बताए ।
“यसरी वर्षासुरु भएसंगै विकास बजेट खर्च हुँदा विकास निर्माणका गुणस्तर कस्तो रहला ? यतिबेलाको निर्माण भएका पूर्वाधारमा बालुवामा पानी जस्तै हो”।
उनले अन्तिम समयमा निर्माण भएका परिजोजनाको गुणस्तर तथा त्यस्ता परिजोजनामा भएको भुक्तानीको अध्ययन गर्नुपर्ने बताए ।
उनले भने- ‘हामीले अन्तिम समयमा खर्च बढेकोलाई उपलब्धिको रुपमा मात्र नहेरी खर्च प्रक्रिया तथा गुणस्तर के छ भन्ने हेर्नु पर्छ’ ।
अर्थशास्त्री डा दिल्लीराज खनालले गत वर्षपनि सरकाररको बिगतका वर्षका जस्तै अन्तिम समय वा अन्तिम महिनामा खर्च गर्ने प्रवृति देखिएको बताए ।
उनले भने- ‘गत आर्थिकवर्ष अन्तिममा एकै दिन २९ अर्ब रुपैयाँ सम्म पूँजीगत खर्च गरेको देखिन्छ छ । यसरी अन्तिममा लापरबाही रुपमा खर्च गर्नु बित्तिय अनुसाशन बिपरित हो’ ।
