काठमाडौं : अमेरिकी अनुदानअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताबारे अध्ययन गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदलको म्याद आज (बुधबार) सकिँदैछ ।
१० दिनभित्र अध्ययन गरी प्रतिवेदन पेस गर्नका लागि भन्दै गत माघ १९ गते बसेको केन्द्रीय कमिटीले कार्यदल गठन गरेको थियो । गठनको भोलीपल्ट देखि नै बैठक बसी आगामी कामकारबाहीबारे रणनीति बनाएको कार्यदलले समय अपुग भएको भन्दै प्रतिवेदन तयार पार्न नसकेको बताएको छ ।
वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित ३ सदस्यीय कार्यदलले १० दिनको अवधिमा अध्ययनका लागि समय लागेको र प्रतिवेदन तयार पार्न समय नपुगेको भन्दै नेतृत्वसँग थप १० दिन समय माग्ने तयारी भएको एक नेताले बताएका छन ।
अध्ययन सामग्री जुटाएर अध्ययन गर्न समय लागेको र प्रतिवेदन लेखनका लागि समय माग्ने निर्णय हिजो मंगलबार बसेको कार्यदलको बैठकले गरेको थियो ।
यद्यपि यता नेकपाभित्र भने प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, यो कार्यदलको म्याद थप गर्ने पक्षमा नरहेको चर्चा चलेको छ । ओलीले मन्त्रीपरिषदबाट पहिल्यै पारित भइसकेको एमसीसी सम्झौतालाई सोझै संसदमा लैजाने तयारी गरेको स्रोतले बताएको छ ।
एमसीसी सम्झौता यही फेब्रुअरी महिनाभित्र संसदबाट अनुमोदन नभए फिर्ता हुने भएकाले पनि प्रधानमन्त्री कार्यदलको प्रतिवेदन पर्खिने मनसायमा नरहेको बताइएको छ ।
