धादिङ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढीगण्डकी जलविद्युत् परियोजनाको कामले अब छिट्टै गति लिने बताउनुभएको छ । सातौँ धादिङ महोत्सवको धादिङबेँसीमा आज उद्घाटन गर्दै उहाँले धादिङ र गोरखाका जनताको जीवनस्तरमा गुणात्मक फड्को मार्ने परियोजना भएको हुँदा मुआब्जाको काम सकिएकोले यसको काम छिट्टै हुने बताउनुभयो ।

जलविद्युत् परियोजनाका प्रभावितको पुनर्वासको विषयमासमेत छलफल भएको बताउँदै उहाँले यसबाट आर्थिक विकास र पर्यटन विकासमा देशलाई ठूलो फाइदा पुग्ने दाबी गर्नुभयो । पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रूपमा त्रिशूली र मस्र्याङ्दीमा समानान्तर राजमार्ग बनाउन सरकार लागि परेको उहाँको भनाइ थियो ।
निजी, सार्वजनिक र सहकारीको विकास गर्दै समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्दै अध्यक्ष दाहालले ल्हसाबाट काठमाडाँै, पोखरा हुँदै लुम्बनी रेलमार्ग बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । हालको अवस्थामा निजी क्षेत्र पनि उत्साहित भएको बताउँदै उहाँले विदेशी लगानी भित्रिए मात्र नेपाल प्रगतितर्फ अग्रसर हुने धारणा व्यक्त गर्नुभयो ।

धादिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेपाङ, मगर, लामा, झाँकी प्रस्तुत गरिएको थियो । कूल १५५ कक्ष रहेको महोत्सवले पाँच करोडको कारोवार गर्ने छ भने महोत्सवमा दुई लाख मानिसले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । धादिङमा उत्पादन भएका राडीपाखी, ढाका, हस्तकला, तथा रेशम आदि सामाग्रीको प्रदर्शनी गरिएको छ । उद्घाटन समारोहमा सांसद खेम लोहनी, मीन विश्वकर्मा, भूमी त्रिपाठी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version