काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याललाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । दुवै जना नेकपाबाट प्रतिनिधिसभामा निर्वाचित(मोरङ र स्याङ्जा) हुन् ।

यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय, २२ मन्त्री (प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित)र तीन राज्यमन्त्री भएका छन् । मन्त्रिमण्डलमा नेकपा र सङ्घीय समाजवादी फोरम नेपाल सहभागी छन् जसमा चार जना महिला छन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय संसद्का सभामुख कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, मुख्य सचिवलगायत उच्च पदस्थ अधिकृतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठन भएको मन्त्रिपरिषद् गत वर्ष फागुन १४ र चैत २ तथा यस वर्ष जेठ १८ गते विस्तार भएको थियो । यो पाँचौँ पटकको विस्तार हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version