काठमाडौँ: राष्ट्रिय गौरवको सिक्टा सिचाइ आयोजनाको पश्चिम मूल नहरको अधिकांश कार्य सहित करिब ५५ प्रतिशत पूर्वाधार निर्माणको कार्य सम्पन्न भएको छ ।
शाखा नहरहरुको निर्माणको क्रममा सिधनिया शाखा नहरको निर्माण कार्य सम्पन्न हुने क्रममा रहेको र डुंडुवा शाखा नहरको निर्माण तथा पुनस्र्थापनाको कार्यका साथै पुर्वी मूलनहर निर्माणको कार्य समेत भैरहेको छ । अन्य शाखा नहरहरुको निर्माणको लागि समेत आबश्यक तयारीका कार्यहरु भैरहेका उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयले जनाएको छ ।
बांके जिल्लाको करिब ४२,००० हेक्टर कृषियोग्य जमीनमा भरपर्दो सिचाइ सेवा पुर्याई खाद्य उत्पादनमा महत्वपूर्ण टेवा पुर्याउने योजनको उद्घेश्य रहेको छ
राप्ती नदीमा बाँध निर्माणको कार्य सम्पन्न भए संगै मूल नहरको ३५ कि.मि. सम्मको निर्माण पश्चात उक्त खण्डको परीक्षणको क्रममा पानी संचालन गर्दा केही स्थानमा नहरमा क्षति भएको मन्त्रालयले जनाएको छ ।
यस संम्बन्धमा मन्त्रालय तहबाट समेत निरीक्षण गरी निर्माण व्यवसायीबाट आयोजनालाई हस्तान्तरण भै नसकेको सन्दर्भमा देखापरेका समस्या समाधानको लागि ठेक्का संझौता अनुसार निर्माण व्यवसायीको दायित्व अन्तर्गत गर्नु पर्ने आबश्यक सुधारका कार्य निजबाट गर्न गराउन निर्देशन दिइ सकेको मन्त्रालयले प्रस्ट परेको छ ।
यस प्रकृतिको समस्या हुन सक्ने संवेदनशील तथा समस्याग्रस्त संभावित स्थानहरुको भौगर्भिक अवस्था तथा माटोको सम्बन्धमा समेत विशेषज्ञ सहितको संलग्नतामा सुक्ष्म प्राविधिक अध्ययन अनुसन्धान गरी आबश्यक सुधारका कार्य गर्न गराउन समेत विभाग तथा आयोजनालाई निर्देशन दिइएको छ ।
