काठमाडौँ: सरकारले कोरोना भाइरसको जोखिम हेरेर नेपाल आउनेहरूलाई ‘अन-अराइभल’ भिसा दिने व्यवस्था स्थगित गर्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी फागुन २४ गतेबाट ‘अन-अराइभल’ भिसा स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
उनका अनुसार, कोरोना भाइरसको संक्रमण देखिएका देशहरूबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्नेछ र भिसाका लागि निवेदन दिँदा स्वास्थ्य सर्टिफिकेटसमेत ल्याउनुपर्ने छ।
विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपालले पनि उच्च सतर्कता अपनाउन लागेको हो। सरकारले बढी संक्रमण भएको देशमा आफ्ना नागरिकलाई नजान आह्वान गर्ने भएको छ।
‘ठूलो भेलाको कार्यक्रम नगर्न र बाहिरबाट पनि त्यस्तो कार्यक्रम आउन लागेको छ भने तत्काल नआउन आह्वान गर्ने भनिएको छ,’ ती मन्त्रीले भने।
