काठमाडौँ: देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा गरेका छन्।
अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४१ जनाको ज्यान गइसकेको छ भने १६ सय ७८ जनामा यसको संक्रमण पुष्टि भएको छ।
‘म आधिकारिक रुपमा राष्ट्रिय संकटकालको घोषणा गर्दछु’, ह्वाइट हाउसको रोज गार्डेनबाट शुक्रबार सम्बोधन गर्दै ट्रम्पले भने।
राष्ट्रिय संकटकालको घोषणा गर्दै ट्रम्पले संक्रमणसँग लड्नका लागि राज्य र स्थानीय सरकारलाई ५० बिलियन डलरसम्मको सहुलियत दिने घोषणा गरे।
सम्बोधनमा ट्रम्पले कोरोना भाइरसको परीक्षण क्षमतालाई ठूलो मात्रामा वृद्धि गर्ने बताए।
कोरोना भाइरसको संक्रमणबाट हालसम्म विश्वभर ५ हजार बढीको ज्यान गइसकेको छ भने एक लाख ४० हजार बढीमा यसको संक्रमण पुष्टि भइसकेको छ। एजेन्सी
