परासी : भारतबाट अवैधरूपमा भइरहेको कुखुराको ओसारपसार कार्य रोक्न पश्चिम नवलपरासीका कुखुरा व्यवसायीले माग गरेका छन् ।

पछिल्लो समय महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण नेपालको तुलनामा भारतमा कुखुराको मूल्य सस्तिएपछि अवैधरूपमा कुखुराको आयात बढेको व्यवसायी र कृषकको गुनासो छ ।

क्वारेन्टाइन जाँचबिना र सस्तो मूल्यमा नेपाली बजारमा भारतबाट ल्याइएका कुखुराको बिक्री बढेपछि नेपाली कुखुरा व्यवसायी मारमा परेका कुखुरा व्यवसायी सङ्घ नवलपरासीका अध्यक्ष सुवास चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले कोरोना भाइरसबाट प्रभावित मुलुकबाट आयात हुने पशुपक्षीमा कडाइ गर्ने नीति लिए पनि भारतबाट नेपालतर्फ कुखुरा तस्करीमा कमी आएको छैन, खुला सीमाका कारण कुखुरा तस्करी रोकिएको छैन ।”

सङ्घका जिल्ला अध्यक्ष चौधरीका अनुसार अहिले कोरोनाका कारण भारतमा कुखुरा प्रतिकिलो भारतीय रु ५० पर्छ । नेपालमा रु १५० देखि १८० सम्म पर्छ । झण्डै दोब्बर फाइदा हुने हुँदा भारतीय कुखुरा तस्करी बढेको उहाँको भनाइ छ । बर्डफ्लू र कोरोनाका कारण भारतमा कुखुरा सस्तो छ । भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीका अधिकांश नाकाबाट तस्करी बढेको व्यवसायीको दाबी छ । तस्करीका लागि धेरैजसोले साइकल प्रयोग गरेको पाइन्छ । अहिले जिल्लाका अधिकांश बजारमा व्यापारीले भारतीय कुखुरा बिक्री गर्दै आएका छन्  ।

भारतीय कुखुरा भित्रिन थालेकाले व्यवसायी त्रसित भएको अध्यक्ष चौधरीले गुनासो गर्नुभयो । तस्करी रोक्न आफूहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, पशु कार्यालयमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । खुला सीमाको गलत फाइदा उठाउँदै हुने गरेको भारतीय पशु तथा पक्षीजन्य कुखुरा, अण्डा र मासुको तस्करी पूर्ण प्रतिबन्ध लगाउन नेपाली कुखुरापालक किसान र व्यवसायीले माग गरेका छन् । भारतीय कुखुराको अवैध आयातका कारण कुखुरापालन गरिरहेका किसानको व्यवसाय नै धरासयी भएको र ऋण काढेर गरेको लगानी डुब्ने अवस्था सिर्जना भइरहेको व्यवसायीको गुनासो छ ।

भारतबाट नेपाल भित्र्याइएका कुखुरा नेपालका फार्ममा हालेर रातारात नेपाली कुखुरा बनाउने गरिएको स्वयं व्यवसायी बताउँछन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भारतीय कुखुरा भित्रन नदिन कडाइ गरिएको बताउनुभयो । “हामीले कडा निगरानी र गस्ती गरेका छौँ, लुकीछिपी ल्याउने समूहलाई पक्रेर कारवाही गर्छौँ”,  उहाँले भन्नुभयो । सीमा क्षेत्रका सबै युनिटलाई कडारूपमा सीमामा गस्ती गर्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version