काठमाडौँ: गत आर्थिक वर्ष २०७४/७५ मा नेपालको व्यापार घाटा झन्डै १२ खर्ब पुगेको छ । गत आर्थिक वर्षमा नेपालबाट ८१ अर्ब १९ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा १२ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ ।

भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४को तुलनामा आर्थिक वर्ष २०७४/७५ मा नेपालको ब्यापार घाटा २७ दशमलब ५३ प्रतिशतले वृद्धि भई ११ खर्ब ६२ अर्ब १० करोड पुगेको छ ।

समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात २६ दशमलब ३१ प्रतिशतले र निर्यात ११ दशमलब १७ प्रतिशतले बृद्दि भएको छ ।आर्थिक वर्ष २०७३/७४ मा ९ खर्ब ८४ अर्ब बराबरको बस्तु आयात भएको थियो भने ७३ अर्ब रुपैयाँ बराबरको सामान निर्यात भएको थियो।

निर्यातको तुलनामा आयातमा भारी वृद्धि हुँदा समीक्षा अवधिमा आयात/निर्यात अनुपात १५: ३ पुगेको छ । समीक्षा अवधिमा नेपालको कुल बैदेशिक ब्यापार २५ दशमलब २७ प्रतिशतले वृद्धि भई १३ खर्ब २४ अर्ब ४८ करोड पुगेको छ ।

सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग ७ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । चीनसँग यस्तो व्यापार घाटा १ खर्ब ५७ अर्ब रहेको छ ।

समीक्षा आवधिमा नेपालबाट भारतमा ४६ अर्ब ६० करोड बराबरको समान निर्यात भएकोमा भारतबाट नेपालमा ८ खर्ब १० अर्ब बराबरको सामान आयात भएको छ ।

त्यसैगरी, समीक्षा आवधिमा नेपालबाट चीनमा २ अर्ब ४३ करोड बराबरको समान निर्यात भएकोमा चीनबाट नेपालमा १ खर्ब ५९ अर्ब बराबरको सामान आयात भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version