काठमाडौँ: काठमाडौं महानगर क्षेत्रभित्र आपूर्ति व्यवस्थालाई सहज बनाउन बिहान १० बजेसम्म पसल खोल्न दिने विषयमा महानगर र प्रशासन सकारात्मक देखिएका छन्।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिएसँगै आपूर्ति व्यवस्थामा केही असहज भएकाले आपूर्ति सहज बनाउन महानगरपालिकाले गरेको सरोकारवालासँग छलफल गरेको थियो।

‘लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आर्थिक गतिविधिलाई पनि चलायमान बनाइराख्नु पर्छ भन्नेमा छलफल भयो,’ महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘अहिले लकडाउनको अवस्थामा अति विपन्न, असहाय र मजदुरलाई राहतको व्यवस्थामात्रै गर्ने होइन, आफैं किन्न सक्नेलाई किन्ने वातावरण समेत निर्माण गरिदिनुपर्ने अवस्था छ। हामी सकेसम्म सहज वातावरण निर्माण गर्छौ।’

छलफलका क्रममा शाक्यले अहिलेसम्म महानगरपालिकाबाट मात्रै ६२ हजार ७ सय २२ जनाले राहत प्राप्त गरेको र १४ हजार ५ सय १७ जनालाई खाना खुवाएको बताए। ‘काठमाडौं महानगरबाट मात्रै यति धेरैलाई राहत वितरण गर्ने र खाना खुवाउने काम भएको छ,’ उनले भने, ‘यति हुँदा पनि खाने कुराको समस्या भएर गाउँ फर्किन बाध्य भएको भन्ने समाचारहरु आइरहेका छन्। खानाकै समस्या भएर गाउँ फर्किनुपर्ने अवस्था आउन दिदैँनौ भनेर हामीले पटक–पटक भन्दै आएका छौं। कोही बाध्य छ भने हामी अहिले पनि उहाँहरुलाई खाद्यन्नको व्यवस्था गर्न तयार छौं।’

उनले अहिलेसम्म काठमाडौं महानगरपालिका क्षेत्र भित्रका ८ सय ५६ जनाको र्‍यापिड टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै अहिलेको अवस्थामा काठमाडौं सुरक्षित रहेकाले हतार गरेर उपत्यका नछाड्न महानगरवासीलाई आग्रह गरे।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version