चरिकोट: कोराना भाइरस सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीका कारण उत्पादित तरकारी बिक्री वितरण गर्न नपाएपछि दोलखाली किसान मर्कामा परेका छन् ।
किसानले उत्पादन गरेका हिउँदे काउली रायोको सागलगायत कुहिन थालेका छन् भने चम्सुर, पालुङगो, धनियाँ फुल्न थालेका छन् । त्यसैगरी प्याज, लसुन छिप्पिएर बिक्री वितरण गर्नै नमिल्ने अवस्थामा पुगेकाले मर्कामा परिएको भीमेश्वर नगरपालिका–७ मकैबारीका किसान वीरबहादुर मोक्तानले गुनासो पोख्नु भयो ।
दुःखका साथ रोपेको तरकारीबाली बिक्री वितरण गर्न नपाएपछि पशुलाई खुवाउन थालिएको दुःखेसो पोख्दै उहाँले भन्नुभयो, ६० रुपियाँ किलो बिक्ने काउली १०÷१५ रुपियाँमा दिँदा पनि बिक्री भएको छैन । रायोको साग ३० रुपियाँ मुठा बिक्नेमा अहिले १० रुपियाँमा पनि बिकेको छैन । काठमाडौँ लाने गरिएको थियो, बन्दाबन्दीले बारीमै कुहिन थालेको छ ।
भूकम्पले यस्तै अवस्था बनाएको थियो, उहाँले भन्नुभयो, गत तीन वर्ष राम्रो कमाइ भयो । एक सिजनमा १५ लाख रुपियाँसम्म कमाइयो । यसपालि मल बिउको पैसा पनि उठेन । यहाँबाट मात्र यो सिजनमा तीन करोड रुपियाँको तरकारी काठमाडौँ लाने गरिएको थियो । यसपालि शून्य छ ।
वडा नम्बर ४ जिलुकी किसान निर्मला चौलागाईँको पनि गुनासो उस्तै छ । यो समयमा तरकारी बिक्री गरी मासिक एक लाख ५० हजार रुपियाँ आम्दानी हुने गरे पनि यो पटक तीन हजार रुपियाँ मात्र कमाइ भएको किसान चौलागाईँले बताउनुभयो ।
किसान चौलागाईँको मात्रै बजार नपाएकै कारण चार मुरी आलु कुहिएर खेर गएको छ । जिलुका अधिकांश किसानको चौलागाईँकै जस्तै समस्या रहेको छ ।
भीमेश्वर नगरपालिकाको अधिकांश वडामा व्यवसायिक रुपमा तरकारी खेती गरिदै आएको छ । किसानले उत्पादन गरेका तरकारी काठमाडौँ सहित बाँकी भएका सदरमुकाम चरिकोट बजारमा बिक्री वितरण गर्ने गरेका थिए ।
अन्य समयमा सदरमुकाम चरिकोटमा प्रत्येक साताको शनिबार बिहान लाग्ने हाट बजार पनि लकडाउनबाट प्रभावित भएको छ । हाटमा किसानले आफूले उब्जनी गरेका तरकारी, अन्न, फलफूललगायत बिक्री वितरण गर्ने गरेका थिए ।
