काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले वैशाख २५ पछि शेयर बजार खोल्ने पक्षमा रहेको बताएका छन् ।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा साउदले लकडाउनको अवधिमा पनि बजार कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल गरिरहेका जानकारी दिदै अव वैशाख २५ पछि बजार खोल्नुपर्ने पक्षमा रही अघि बढेको बताए ।

नेपालको सन्दर्भमा शेयर बजार सञ्चालनका लागि विजनेश कन्टिन्यूटीको प्लान, डिजास्टर रिकभरीको प्लान र आइटी पोलिसी आवश्यक रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत साउदले आईटी पोलिसी सञ्चालक समितिबाट पास गरेर नेपाल धितोपत्र बोर्डमा पेश गरेका जानकारी समेत दिए ।

नेप्सेको अनलाईन कारोबार प्रणाली आफैमा पूर्ण भएको बताउँदै उनले लगानीकर्ताहरुनै यसप्रति आकर्षित नभएकोमा दुख व्यक्त गरे । बजारमा उल्लेख्य कारोबार भएको दिन ४५ प्रतिशत भन्दा बढी कारोबार अनलाईन मार्फत भएको जानकारी गराउँदै उनले यस प्रणालीको थप विकास र विस्तारमा नेप्से निरन्तर लागेको बताए ।

४५ दिन बजार बन्द हुदाँ लगानीकर्तामा नकारात्मक सन्देश जान्छ: लगानीकर्ता पौडेल
कोरोना संक्रमण रोकथाम भई जनजीवन सामान्य अवस्थामा फर्कन अझै अन्योल रहेकाले शेयर बजार सामान्य रुपमा भए पनि खोल्नुपर्ने तर्क नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले बताएका छन् ।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले पूँजीबजारका सरोकारवालहरुसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले हाललाई समय घटाएर सर्किट ब्रेकरको सीमा घटाएर कारोबार अघि बढाउन सुझाव दिएका हुन । वैशाख २५ गतेसम्म शेयर बजार बन्द गर्ने निर्णय भएसँगै नेपालको शेयर बजार एकै पटक ४५ दिन बन्द हुन्छ ।

यसले नेपालको र अन्तराष्ट्रिय स्तरबाट लगानी गर्ने लगानीकर्तामा समेत बजारप्रतिको नकारात्मक सन्देश जाने उनले प्रष्ट पारे । धितोपत्र बजारमा गैरआवासिय नेपालीहरुको लगानी भित्र्याउने योजना नियामक निकायले अघि सारिरहदा अहिलेको बजार बन्दले ती वर्गमा नकारात्मक सन्देश जाने सम्भावना रहेको समेत उनको भनाई छ ।

अहिलेको अवस्थामा कारोबारको समय घटाएर ५० ब्रोकर कम्पनीहरुमध्य पालो गरेर खोल्ने वातावरण मिलाउन समेत उनले बजार नियामक निकायलाई आग्रह गरेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version