नेपालगञ्ज: बाँके जिल्लाका स्थानीय तहले भारतबाट आयात गरिको तरकारी बिक्री वितरणमा रोक लगाएका छन् ।

कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि गाउँगाउँमा पुग्ने भारतीय तरकारीबाट सङ्क्रमणको जोखिम बढेको भन्दै भारतीय सीमासँग जोडिएका यहाँका स्थानीय तहले बिक्री वितरणमा रोक लगाएका हुन् ।

बाँकेसँग जोडिएको भारतको उत्तर प्रदेशका जिल्लामा कोरोनाको सङ्क्रमण बढ्दो रहेकाले पनि भारतीय तरकारीबाट सङ्क्रमणको जोखिम बढेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । उनले कोरोना सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीलाई थप कडाइ गर्दै आइतबारदेखि भारतबाट आयात तथा बिक्री वितरण हुने तरकारीमा पनि रोक लगाइएको जानकारी दिए ।

‘खजुरा गाउँपालिकाको वडा नं १ राधापुर क्षेत्र भारतसँग जोडिएकाले त्यहाँ सशस्त्र प्रहरी तथा राधापुरचौकीलाई भारतीय तरकारी रोक्न आग्रह गरिएको छ भने स्वयंसेवक दस्ता पनि परिचालित हुने गरेको छ,’ उनले भने, ‘सीमा क्षेत्रमा पूर्णरुपमा आवतजावत रोक्न सुयुक्त सुरक्षा फौज लागिपरेको छ ।’

खजुरा क्षेत्रका किसानले उत्पादन गरेको तरकारीलगायत कृषि उत्पादन पर्याप्त रहेकाले भारतीय तरकारीमा रोक लगाउँदै स्थानीय कृषि उपजको बजारीकरणमा ध्यान दिइएको उनको भनाइ छ । बन्दाबन्दीका कारण किसानको खेतमा अलपत्र तरकारी बजार व्यवस्थापनका लागि खजुरा क्षेत्रका अगुवा कृषक र कृषि सहकारीका प्रमुखसँगको छलफल गरेर खजुरामै कृषि उपजको खपत गर्नेतर्फ गाउँपालिकाले जोड दिएको अध्यक्ष कक्षपतिले जानकारी दिए ।

बाँकेकै कोहलपुर नगरपालिकाले पनि भारतीय तरकारी बिक्रीवितरणमा रोक लगाउँदै नेपाली किसानले उत्पादन गरेको तरकारी कृषि बजारसम्म पुर्‍याउने व्यवस्था गर्न लागिरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version